बेनी अस्पतालको अपादर्शीता !

  • २ असार २०७५, शनिबार
  • कमल खत्री
  • 2641 पटक पढिएको

म्याग्दी, २ असार । बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शुल्कमा अनियमितता हुने गरेको छ । विभिन्न शिक्षालयहरुबाट आउने विद्यार्थीहरुले बुझाउने शुल्कको अभिलेख नै नराख्ने र लुकाउने गरी कर्मचारीहरुले दुरुपयोग गरेका हुन् । अस्पतालमा अहिले बर्षेनी सयौँको संख्यामा हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरु आउने गरेका छन् । तर अस्पतालको लेखा, प्रशासन र विकास समिति समक्ष के–कती ? प्रशिक्षार्थिहरु आए भन्ने अभिलेख छैन् । अस्पतालमा आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शुल्कको लेखाजोखा नहुँदा बेनी अस्पतालभित्र आर्थिक अपादर्शीता हुने गरेको तथ्य बाहीरिएको हो ।

अस्पतालमा २ देखि ३ महिनाको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले प्रतिव्यत्ति रु २ हजार देखि ३ हजारसम्म शुल्क बुझाउँछन् । बार्षिक रुपमा सयौँको संख्यामा आउने ती प्रशिक्षार्थीहरुको अभिलेख नै नराखी अस्पतालका कर्मचारीहरुले शुल्कमाथि अनियमिता गरेको उजुरी परेपछि अहिले अख्यितार दुरुपयोग अनुसंधान आयोग पोखराले अस्पतालमा छापा मारेर फाइलहरु लगेर अनुसंधान गरिरहेको छ ।

बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित नेकपा निकट युवा र विद्यार्थी संगठनहरु युवासंघ, वाईसीएल, अनेरास्ववीयु र अनेरास्ववीयु (क्रान्तिकारी) ले अनियमितताका १७ वटा बुदा सहित जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको माग सहित उजुरी गरेका थिए । उजुरी लगत्तै छानविनको लागि आएको अख्यितारको टोलीले प्रारम्भीक अनुसंधानको क्रममा आर्थिक पाटो संकास्पद भेटिएपछि अस्पतालको फाइलहरु लगेको छ ।

बेनी अस्पतालको सेवा प्रवाह र अनियमिताको सम्बन्धमा ध्यानकर्षण सहितको उजुरी परेपछि सत्य तथ्य छानविन गरि शुसासन कायम गर्नको लागि आबश्यक अनुसंधान गर्न अख्यितार दुरुपयोग अनुसंधान आयोगमा सो ध्यानकर्षण पत्र पठाईएको र आयोगले अनुसंधान र छानविन गरिरहेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । ‘हामीकहाँ परेको उजुरी अख्तियारमा पनि परेको रहेछ, त्यसैले हामीले यहाँ परेको उजुरी उपर छानविन गर्न अख्तियारमै उजुरीलाई पठाएका हौँ,’’–प्रजिअ अधिकारीले भने ।

अस्पतालमा (ओजेटी गर्न आउने ) प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरु कुन कलेजबाट कती आए र उनीहरुबाट कती शुल्क संकलन भयो भन्ने एकिन तथ्याङ्क छैन् । अस्पतालका लेखा अधिृकत रामप्रसाद शर्माले चालु आर्थिक बर्षमा उनीहरुबाट २ लाख ७९ हजार रकम जम्मा भएको र यस मध्ये ४० हजार गत बर्षको शुल्क जम्मा भएको जानकारी दिए । ‘‘ आउन त प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरु चिठ्ठी लिएर आउँछन्, अस्ती अख्यितारले अभिलेख माख्दा रेकडेर्ट डकुमेण्ट भेटिएन, हामीले सबै शाखाहरुबाट संकलन गरि बुझाएका छौँ तर विवरण मिलेको छैन, विद्यार्थी पठाएका विद्यालयहरुले पैसा पठाउँदै होलान’’– लेखा अधिकृत शर्माले भने ।

ओजेटी गर्न आउनेहरुको शुल्क विद्यालयले सिधै खातामा जम्मा गरिदीने र अस्पतालबाट रसिद नकाटीने भएकाले आर्थिक पाटोसंग लेखा शाखा जोडिएपनि अस्पतालमा को –को आए र को –को गए भन्ने अधिकार लेखाशाखासंग नहुने उनको भनाई छ । ओजेटीको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले विद्यालयले पठाएको विद्यार्थी संख्याको पत्र लिएर आउने भएपनि त्यसको अभिलेख अस्पतालमा नराख्ने गरेको पाईएको छ । अस्पताल प्रशासनले कुन विद्यालयबाट के कती प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरु आए र त्यस बापत कती शुल्क जम्मा भयो भन्ने बास्तविक तथ्याङ्क नराख्नुले अस्पताल भित्र आर्थिक अनियमितता हुने गरेको आरोपलाई थप बल पु¥याएको छ ।

ओजेटीको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरु मध्ये हेल्थ असिस्टेण्टको लागि प्रतिव्यक्ति रु ३ हजार र अनमी र प्राविधिकहरुको लागि प्रतिव्यक्ति रु २ हजार शुल्क लिने गरि विद्यालयहरुसंग भएको पहिलेको सम्झौतालाई निरन्तरता दिने निर्णय भएको अस्पताल विकास समितिले जनाएको छ ।‘‘ बेनी अस्पतालमा आउनेको हकमा सबै शुल्क अस्पताल विकास समितिको खातामा जम्मा हुनुपर्छ, जिल्लाका अन्य स्वास्थ्य संस्थामा जानेको हकमा सम्बन्धित संस्थालाई ७५ प्रतिशत र विकास समितिलाई जानुपर्छ, अहिले जुन तवरले आर्थिक अपारदर्शीताको कुरा उठेपछि यस बिषयमा सम्बन्धित विद्यालयहरुसंग समेत सम्पर्क गरि बुझ्ने काम गरिरहेको छु,’’– अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले भने ।

उनले आफुले समेत यस बिषयमा अनुसंधान गर्दा केही बिद्यालयहरुले ढिला गरि शुल्क पठाउने गरेको पाईएको र यो बर्ष अघिल्लो बर्षको रु ४० हजार शुल्क जम्मा भएको पाईएको बताए ।े आर्थिक पाटो अस्पताल विकास समितिसंग नजोडिने र समितिले नीति तथा समग्र व्यवस्थापनको लागि प्रयास गर्ने भएकाले सम्बन्धित प्रशासन र लेखा शाखाले यस सम्बन्धमा सबफदेही बन्नुपर्ने अध्यक्ष रेग्मीले बताए ।

यस सन्दर्भमा अस्पताल प्रशासन संग पटक पटक ताकेता गर्दा समेत सम्बन्धित व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन् । अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपाने बिगत लामो समयदेखि अस्पतालमा छैनन् । उनी अहिले सेवाकालिन तालिममा रहेको अस्पतालले जनाएको छ । बेनी अस्पतालको बिषयमा जिल्ला प्रशासन र अख्यितयारमा परेको उजुरीमा किल्नीकल फिल्डमा आउने विद्यार्थीबाट अस्पतालले लिने शूल्कको दुरुपयोग आरोप संगै स्टोरमा म्याद गुज्रेका औषधी राखेर बितरण गरेको, कागजमा मात्र सामान खरिद गर्ने गरेको, कर्मचारी भर्नाका क्रममा प्रक्रिया पुरा नगरेको, अस्पताल परिसरका रुखहरु प्रक्रिया पुरा नगरी काटेर बिक्री भएको, ईमरजेन्सी भवन निर्माणको खर्च विवरण सार्वजनीक नभएको, नामदर्ता, एम्बुलेन्स, ईन्धन तथा सञ्चार शिर्षकको बजेट अपारदर्शी दंगले खर्च भएको लगायतका आरोप लगाइएको छ ।

उजुरीमा अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले दोहोरो सुबिधा लिने गरेको, कार्यालय समयमा निजी किल्नीक तथा औषधी पसलमा काम गरेको लगायतका विषय उल्लेख गरिएको छ । बेनी अस्पताल भ्रष्ट्राचारीहरुको अखडा बनेको बताउँदै अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलले छानवीन गरी कारबाही र प्रत्येक गतिबिधि पारदर्शी हुनुपर्ने बताए । वाईसीएलका जिल्ला अध्यक्ष कुमार किसानले बिकृती, बेतीथी र बिसंगती विरुद्ध सरकारले लिएको नितीलाई सफल बनाउन युवाहरु अग्रसर रहेको बताउँछन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l