सहकारीका प्रबन्धकहरुका लागि सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरण

  • ९ आश्विन २०८२, बिहीबार
  • 149 पटक पढिएको

म्याग्दी र पर्वतका विभिन्न सहकारीहरुका प्रबन्धकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीले सहकारीका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागीता बनाउने उदेश्यले आयोजना गरेको कार्यक्रममा सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलका प्रमुख केदार पौडेलले सहजिकरण गर्नुभएको थियो ।    उहाँले सहकारी संस्थामा कार्यरत कर्मचारीका लागि कोषको आवश्यकता, सदस्यता प्रक्रिया, योगदानको स्वरुप र त्यसबाट प्राप्त हुने सुविधाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँका अनुसार, सामाजिक सुरक्षा कोषमा हालसम्म नेपालमा साढे २५ लाख बढी योगदान कर्ता आबद्ध भएका छन् ।
त्यस्तै राष्ट्रिय सहकारी बैंक बाग्लुङ शाखा प्रमुख अमृत श्रेष्ठले सामाजिक सुरक्षा कोषमार्फत सहकारी कर्मचारीलाई सुरक्षित बनाउने प्रयास सकारात्मक बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले सहकारी संस्था स्थानीय आर्थिक विकासको मेरुदण्ड भएको भन्दै दिगोपनाका लागि कर्मचारी सुरक्षामा ध्यान दिनुपर्ने धारणा कुरामा जोड दिनुभयो । विजियादशमी २०८२ को अवसरमा शुभकामना आदानप्रदान सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीको रहेको थियो भने संचालन मुक्तिनाथ सहकारीका सह–व्यवस्थापक हरिकृष्ण आचार्यले गर्नुभएको थियो ।

जिल्लामा रहेका स्थित सहकारी संस्थामा कार्यरत प्रबन्धकहरुको संगठित संस्था को–अपरेटिभ म्यानेजर्स क्लव म्याग्दीले विभिन्न नियकायहरु सँगको सहकार्यमा सहकारीको संस्थागत विकास, सहकारीका कर्मचारीहरुको क्षमता अभिवृद्धि, संचालकहरुको क्षमता अभिवृद्धि सहित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।