शैक्षिक गुणस्तर सुधारको बाटोमा म्याग्दी क्याम्पस, क्युएए प्रणालीमा जान तयारी
- १४ जेष्ठ २०७५, सोमबार
- सन्तोष गौतम
- 2297 पटक पढिएको
बेनी १४ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर सुधारकालागि गुणस्तर मापदण्ड सुनिश्चितता (क्युएए) प्रणाली अपनाउने भएको छ । वि.स २०६६ अघि बढेको क्युएए प्रणाली लागु गराउने बहसले आठ वर्षपछि सार्थकता पाउन लागेको हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय अनुदान आयोगको मापदण्ड पुरा गरेर क्युएए प्रणालीमा जान लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।
अध्यक्ष सुवेदीका अनुसार आयोगको मापदण्ड अनुसार नितीगत ब्यवस्था, नियम र कार्यबिधी तयार पार्नुका साथै भौतिक पूर्वाधार तयार पारिएको छ । क्युएए मापदण्ड पुरा गर्न भएका नितीगत ब्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुङ्गानाले बताउनुभयो । क्युएए प्रणाली मार्फत प्रध्यापकहरुको शिक्षण, विद्यार्थीको अध्ययन विधीलाई अनुसन्धनात्मक बनाउनुका साथै बिकास योग्य दक्ष जनशक्ती तयार हुने अपेक्षा गरीएको छ । विद्यार्थीको सिकाई र उतिर्णदर बृद्धी गर्नु क्युएए प्रणालीको मुख्य उद्देश्य रहेको छ ।
क्युएए प्रणालीको विषयमा स्थानीयतह, जनप्रतिनिधी, अभिभावक, विद्यार्थी, प्रध्यापक, सञ्चालक समिति, समुदाय र सरकारी निकायसंग छलफल अघि बढाइएको क्याम्पसको क्युएए बिभागका प्रमुख प्रध्यापक गोखरबहादुर जिसीले बताउनुयभो । यसैक्रममा सोमबार सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको छ । सो कार्यक्रममा आयोगका नारायणप्रसाद भण्डारीले पाँचवर्ष भित्रमा नेपालका सबै क्याम्पसलाई क्युएए प्रणालीमा ल्याउने प्रक्रिया अघि बढेको बताउनुयभो ।उहाँका अनुसार नयाँ व्यवस्था लागु भएपछि विद्यार्थी उतिर्ण र बजारमा खपतको दरको आधारमा अनुदान पाउनेछन् ।
दक्ष, योग्य र बजारमा बिकाउ जनशक्ति उत्पादन गर्नु क्युएए प्रणालीको उद्देश्य रहेको आयोगका दिनेश प्रजापतीले बताउनुयभो । क्युएए प्रणाली लागु गर्न १०० पूर्णांकको १२० वटा सूचक मध्य म्याग्दी बहुमुखी क्याम्पसले स्वमूल्याङकनका क्रममा ३५ अंकपाएको छ । न्युनतम पचास अंक प्राप्त गर्नुपर्ने मापदण्ड छ । देशभरका क्याम्पसहरुको जस्तै म्याग्दी क्याम्पसको उतिर्णदर समेत ३० प्रतिशतको हाराहारीमा देखिएको आयोगको टोलीले अन्तरक्रियामा जानकारी गराएको थियो । कार्यक्रमको सञ्चालन सहयाक क्याम्पस प्रमुख श्रीधर सुवेदीले गर्नुभएको थियो ।
दशजोड दुई र स्तातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकायको पठनपाठन हुने क्याम्पसमा यस शैक्षिक सत्रदेखि ब्यवस्थापन संकायमा स्नाकोत्तर तहको पठनपाठन सुरु गरेको छ । त्रिभुवनविश्व विद्यालयबाट सम्बन्धन प्राप्त म्याग्दी क्याम्पसमा हाल एक हजार जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।