म्याग्दीका खानी उत्खननको पर्खाइमा, स्थानीय सरकारको चासो खोज्दै समुदाय (फोटो फिचर)

  • ८ जेष्ठ २०७५, मंगलवार
  • कमल खत्री
  • 5503 पटक पढिएको

म्याग्दी, ८ जेठ । धौलागिरि गाउँपालिका– ५ मल्कबाङमा दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । स्थानीय छन्त्याल समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको खानी उत्खनन् तत्कालिन सरकारले करको दर बढाएसंगै बन्द हुन पुगेका थिए । गाउँदेखि माथिका पहाडहरुमा तत्कालिन समयमा तामा उत्खनन् गरेका खानीका सुरुङहरु प्रशस्त मात्रामा भेटिन्छन् । झण्डै साढे १ शताब्दीदेखि बन्द अबस्थामा रहेका तामाखानीहरुको अध्ययन र अनुसंधान गरि पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।

आफ्ना पुर्खाहरुले खानी खनेका ठाउँ वरपर अहिलेपनि तामाका धाउहरु भेटिने भएकाले यस क्षेत्रमा तामा खानीको सम्भावना अध्ययन गरि पुनः सञ्चालनमा ल्याउनुपर्ने मल्कबाङका स्थानीय टिका बहादुर घरब्जा छन्त्यालले बताउनुभयो । ‘‘ हाम्रो पुस्ताले यसैमा जिवन विताए, उनीहरुले खनेका दुई दर्जन बढी खानीका भग्नाबशेष यहाँ अझै भेटिन्छन्, सरकारले यस क्षेत्रको खानीको सम्भावनालाई अनुसन्धान गर्न जरुरी छ,’’–उहाँले भन्नुभयो । तत्कालिन सरकारले खानी उत्खनन गर्नेहरुबाट लिने करबापतको ‘भेजा’ बढी लिन थालेपछि छन्त्याल समुदायको पुख्यौली पेशा खानी उत्खनन् संकटमा पर्न थालेको थियो । म्याग्दीमा अहिले खानीका भग्नाबशेष भएका ठाउँ नजीक छन्त्याल समुदायकै बसोबास छ । छन्त्याल समुदायले खानीबाट तामा, फलाम लगायत उत्खनन् गरि अन्य ठाउँमा पुगेर अन्नसंग साटेर गुजारा चलाउने गर्थे ।

आफ्नो पुख्यौली पेशा संकटमा परेपछि ४÷५ पुस्तादेखि छन्त्याल समुदायको पेशा पनि परिवर्तन भएको छ । अहिले अधिकाँश छन्त्याल समुदाय वैदेशिक रोजगारि, व्यापार व्यवसाय लगायतमा आबद्ध देखिन्छन् । मल्कबाङमा तत्कालिन समयमा स्थानीय स्तरमै उत्खनन गरिएका तामाबाट बनाईएका घरेलु भाँडाहरु अहिले पनि छन् । खानी खन्नको लागि बनाईएका लामा–लामा सुरुङ वरपर र भित्र तामाका धाउहरु प्रसस्त मात्रामा देखिने भएकाले यसको अध्ययन र अनुसंधान गर्नुपर्ने स्थानीय धनबहादुर छन्त्यालले बताउनुभयो । ‘‘ पुर्खाहरुले गाउले छिनो, घन ,कुटो कोदालोको सहारामा यत्रा पहाडमा सुरुङ खनेर तामा उत्खनन गरेका हुन्, त्यतीबेला सुरुङभित्र आगो बालेर तामाका धाउहरु खन्ने गरेको सुनिन्छ, अहिले प्रविधिको विकास भएको छ, सम्भाव्यता अध्ययन गरेमा नयाँ प्रविधिको प्रयोगले खानीहरु उत्खनन् गर्न सकिन्छ,’’–उहाँले भन्नुभयो ।

मल्कबाङमा रहेका दर्जन बढी तामा खानीहरु मध्ये अहिले अधिकाँश पुरिन थालेका छन् । चट्टाने पहाडमा आफ्ना पुस्ताले खानी खन्नको लागि स्थानीय औजारहरुले बनाएका सुरुङहरु समेत पुरिने अबस्थामा पुगेकोमा स्थानीयबासी चिन्तित समेत भएका छन् । खानीमा रहेका सुरुङहरुले नेपालको झण्डै २ सय बर्ष पुरानो जिवनशैलिलाई समेत झल्काउने भएकाले यस्तो सुरुङहरुलाई तत्कालको लागि संरक्षण गर्नुपर्ने आबश्यकता रहेको युकेबाट घरविदामा आएका मल्कबाङका शेर बहादुर छन्त्यालले बताउनुभयो । उनले यस्ता ऐतिहाँसिक र पुस्तौ पहिलको जिवन्त रहेका खानीहरुलाई उत्खनन् संगै सुरुङहरुको संरक्षण र प्रचार प्रसार गर्न सकेमा पर्यटकीय दृष्टिकोणमा समेत अगाडी बढाउन सकिने बताउनुभयो ।

मल्कबाङमा अहिलेभन्दा १७१ बर्ष अघि गाउँमै रहेका खानीहरुबाट उत्खनन् गरिएको तामाबाट बनाईएका भाँडाहरु समेत छन् । स्थानीय लाल बहादुर छन्त्यालको घरमा वि.स. १९०४ मितीमा बनेका भाँडाकुडा रहेका छन् । आफ्नो पुख्र्यौली सामानमा उक्त मिती उल्लेख भएका ६ माने पाथी र गाग्री समेत भेटिएपछि आफुहरुले त्यसलाई जोगाएर राखेको उनले बताए । धौलागिरि गाउँपालिकाको मल्कबाङ संगै वडा नम्बर १ गुर्जा, वडा नम्बर ७ मच्छीम, धारापानी लगायतका क्षेत्रमा समेत तामा, फलाम लगायतका खानी खनेका सुरुङहरु रहेका छन् । खानी विभागमा पुगेर खानीहरुको तथ्याङ्कबारे जानकारी माग गरिसकिएको र गाउँपालिका भित्र रहेका खानीहरुको अबस्था पक्ता लगाउनको लागि प्रदेश र संघिय सरकारसंग समन्वय गरि अगाडी बढ्ने योजना रहेको धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

गाउँपालिकाभित्र रहेका यस्ता खानीका सुरुङहरुलाई संरक्षण र सम्भाव्यता अध्ययनको लागि आगामी बर्षको निती तथा कार्यक्रममा बजेट व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । ‘‘ गाउँपालिका सुरुवाती चरणमा छ, यसको उत्खनन्कै प्रकृयाको लागि त प्रदेश र केन्द्र सरकारबाट हेरिनुपर्ने देखिन्छ, सम्भावनाको अध्ययनको लागि हामीले गाउँपालिकाबाटै पहल गर्छौ’’– उपाध्यक्ष छन्त्यालले भन्नुभयो । जिल्लाको रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ ठाडाखानी, ७ कुईनेमंगले, मालिका गाउँपालिकाको ओखरबोट लगायतका ठाउँमा तत्कालिन समयमा खनिएका दर्जनौँ खानीका सुरुङ र अबशेष रहेका छन् । ती ठाउँहरुमा स्थानियबासीले स्थानिय सिप र साधनको प्रयोग गरि तामा निकाल्ने गरेको खानीका सुरुङ्ग र धाउ अझै भेटिन्छन् ।

पुर्खाहरुले जिविकोपार्जनको लागि खानी खनेको भएपनि बन्द अबस्थामा रहेका खानीको अध्ययन र अनुसंधान नहूँदा नयाँ पुस्ता खानीको बारेमा अनविज्ञ बन्नुपरेको रघुगंगा गाउँपालिका–७ कुईनेखानीका पलप्रसाद छन्त्यालले बताउनुभयो । तत्कालिन समयमा बन्द भएका खानीहरु बर्षेनी बाढि, पहिरोले सुरुङ पुरीदै गएको स्थानियबासी बताउँछन् । खानीहरुलाई उत्खनन गर्न स्विकृतिको लागी सरकारि प्रकृया पु¥याउन नसक्नु, पुख्र्यौली शिप नयाँ पूस्तामा हस्तान्तरण नहुनु जस्ता कारण पनी खानी उत्खनन नहुनुको अर्को कारण बनेको छ । त्यसैले परम्परागत रुपमा उत्खनन हुने गरेका यस्ता संभावनायुक्त खानीको अनुसंधान गरि संचालनमा ल्याउन स्थानीय प्रदेश र केन्द्रिय सरकारको ध्यान जान जरुरी छ ।

बन्द भएका खानीहरुलाई आधुनीक स्रोत, साधन र सिपको प्रयोग गरि पुन संचालनमा ल्याउन सकेमा स्थानीय समुदाय संगै राष्ट्रकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । खानी संरक्षण र उत्खनन्को अधिकार स्थानीय तहलाई आएपछि म्याग्दीका विभिन्न ठाउँमा रहेका यस्ता खानीहरु पुन : सञ्चालनमा आउने आशा पलाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l