म्याग्दीका मुख्य बजारहरुमा नदी कटानको समस्या (फोटो फिचर)

  • १० भाद्र २०७४, शनिबार
  • कमल खत्री
  • 6080 पटक पढिएको

म्याग्दी, १० भदौ । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार म्याग्दी नदीको कटानले जोखिममा परेको छ । बर्षातको समयमा  खोलामा पानीको बहाब बढेपछि जनप्रिय माविको भवन रहेको खेलकुद मैदानतर्फ म्याग्दी नदीले कटान गरेको हो । म्याग्दी नदीको बाढीले दरबाङ बजार संरक्षणको लागि खेलकुद मैदानतर्फ लगाईएको ग्याबिनको तटबन्ध समेत बगाएको छ । कटानको कारण जनप्रिय माविको आधारभुत तहको पठनपाठन हुने भवन समेत जोखिममा परेको छ । नदीको कटान बढ्दै गएपछि बजार क्षेत्र नै जोखिममा परेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।


दरबाङ बजार नजीकै आएपछि म्याग्दी नदीको धार घुमाउरो भएको कारण पनि जुनसुकै समयमा पनि नदीले कटान गर्न सक्ने खतरा रहेको छ । ‘‘ अहिले तत्कालै केही गर्न सक्ने अबस्था छैन, पानीको बहाब घट्दै गएपछि बजारको सुरक्षाको लागि आबश्यक कदम चाल्नुपर्नेछ, त्यसको लागि विभिन्न निकायमा पहल भईरहेको छ,’’–गाउँपालिका प्रमुख रोकाले भन्नुभयो । उहाँले बजारको संरक्षणको लागि गाउँपालिकाले समेत बजेट बिनियोजन गरेको भएपनि पक्कि पर्खाल निर्माणको लागि आबश्यक स्रोत जुटाउने कार्य भईरहेको बताउनुभयो ।


मालिका गाउँपालिकाको केन्द्र दरबाङसंगै मंगला गाउँपालिकाको केन्द्र बावियाचौर समेत नदी कटानबाट अछुतो छैन् । मंगला गाउँपालिका – ५ अर्मनको हाँडिभिरतर्फ बढेको म्याग्दी नदीको कटानले गाउँपालिकाकै केन्द्र रहेको बावियाचौरलाई समेत जोखिममा पार्नसक्ने खतरा बढेको छ । नदी कटानले धेरै जग्गा बगाईसकेको र बस्तीतर्फ कटान बढेकाले स्थानीयबासी समस्यामा परेका छन् । म्याग्दी नदीको कटान हाँडिभिरतर्फ बढेमा त्यसले बावियाचौर बजारलाई समेत प्रत्येक्ष असर पु¥याउने भएकाले अहिले भईरहेको नदी कटानलाई नियन्त्रण गर्नुपर्ने देखिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।


अहिले हाँडिभिरतर्फ भएको नदी कतानले एउटा घर पूर्ण रुपमा भत्किएको छ भने अन्य घरहरुसंगै स्वास्थ्यचौकी समेत जोखिममा परेको छ । बावियाचौर बजारतर्फ यस अघि पनि म्याग्दी नदीले कटान गरेको थियो । वि.स.२०४४ सालमा म्याग्दी नदीमा आएको बाढले बावियाचौर बजारमा रहेको मंगला मावि रहेको क्षेत्रमा ठुलो कटान गरेको स्मरण गर्दै गाउँपालिका अध्यक्ष रोकाले नदीकटानबाट बजार क्षेत्रलाई जोगाउन दिगो संरक्षणका योजनाहरु आबश्यक रहेको बताउनुभयो ।


बावियाचौरदेखि तल तातोपानी, ताराखेत, सिगा, बगरफाँट, मंगलाघाट हूँदै बेनी नगरपालिकाको केन्द्र रहेको जिल्ला सदरमुकाम बेनी र बेनी नगरपालिकाको आनन्दबगर क्षेत्र समेत नदी कटानबाट उच्च जोखिममा रहेका छन् । म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको बेनी बजार देशभरकै उच्च जोखिमयुक्त बजारको रुपमा चिनिन्छ । बजारको छेउमा रहेका दुई ठुला नदीमा जुनसुकै समयमा पनि बाढी आउन सक्ने खतरा रहेकाले बेनी बजार नदी कटानबाट उच्च जोखिममा परेको हो ।


बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी बजारलाई नदी कटानबाट जोगाउनको लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट केहीबर्षदेखि क्रमागत योजना अनुसार कामहरु भईरहेको बताउनुभयो । यो बर्ष पनि कालिगण्डकी नदीकटानलाई रोक्न पक्कि ढलान पर्खाल निर्माणको लागि योजना सञ्चालन हुने भएपनि आधिकारीक जानकारी नआएको बताउनुभयो । उहाँले बजारलाई नदीकटानबाट गोजाउन पक्कि तटबन्धको कार्यलाई पूर्णता दिनुपर्ने भएपनि कार्यालयसंग प्रयाप्त आर्थिक स्रोत नहुँदा केन्द्रिय बजेटमै निर्भर हुनुपरेको बताउँदे कार्यालयले समेत आपतकालिन संरक्षणको लागि बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।


दुई नदीको बिचमा रहेको र कमजोर भूबनोट भएको कारण बेनीबजारतर्फ नदीको कटान बढ्न सक्ने खतरा बढी रहेको छ । जिल्लाका दुई ठुला नदी म्याग्दी र कालिगण्डकीको तटिय क्षेत्रमा रहेका अधिकाँश बजार तथा बस्तीहरु नदी कटानको चपेटामा परेका छन् । गलेश्वर,चमेरे, घुमाउनेताल, तिप्याङ हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगर समेत नदी कटानको जोखिममा छन् । अन्यको तुलनामा केही सुरक्षित भएपनि पोखरेबगर समेन कालिगण्डकी नदीको छेउैमा रहेकाले नदी कटानको जोखिम उत्तिकै छ । कालिगण्डकी नदीबाट अन्नपूर्ण गाउँपालिकाको तातोपानी, दाना, लगायतका बजारहरु समेत जोखिममा रहेका छन् ।


कालिगण्डकी नदीको किनारमा रहेका बेगखोला र बैसरी बस्तीको अस्तित्व नै मेटिएको छ । बैसरीमा बस्तीमाथिबाट खसेको पहिरोले १७ घण्टा सम्म कालिगण्डकी नदी थुनिएको थियो भने बस्ती पूर्ण रुपमा पुरिएको थियो भने गत बर्ष अविरल बर्षाको कारण बाढी आउँदा बेगखोलामा रहेको बस्ती समेत पूर्ण रुपमा बगरमा परिणत भएको छ । गहिरो नदी, कमजोर भूबनोट र अधिक बर्षा जस्ता कारणले म्याग्दी प्राकृतिक रुपमै बाढी, पहिरो र भूक्षयबाट जोखिमयुक्त क्षेत्रमा पर्ने भएपनि अव्यवस्थित तवरले गरिने विकास निर्माण कार्यले समेत थप जोखिम बढाएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल बताउँछन् ।

पछिल्लो समय अव्यवस्थित रुपमा विस्तार गरिने मोटरबाटो खस्ने क्रममा बाहिर निकालिएको माटो जथाभावि फाल्ने र बर्खाको समयमा पानीले बगाएर खोलामा मिसन पुग्दा खोलाको आयातन बढ्ने र त्यसले कटानको जोखिम बढाउने समस्या देखिएको उहाँको भनाई छ ।
ओखरबोट, निस्कोट, रुम लगायतको क्षेत्रमा अव्यवस्थित रुपमा खनिएका सडकको कारण रितुङ खोलामा बाढी आउने समस्याले ओखरबोटको फुलबारी लगायतका क्षेत्र उच्च जोखिममा परेको बताउँदै अव्यवस्थित रुपमा खनिएका सडकहरुले अन्य क्षेत्रमा पनि समस्या निम्त्याउन थालेको बताउनुभयो ।

जिल्ला भू–संरक्षण कार्यालयको तथ्याङ्क अनुसार, जिल्लाको म्याग्दी र कालिगण्डकी नदीको तटिय क्षेत्रमा रहेका करिब २५ सय घरधुरी नदी कटानको जोखिममा रहेका छन् । म्याग्दीसंगै सिमाना जोडिएको उत्तरी पर्वतको जलजला गाउँपालिकाको कालिगण्डकी नदीको किनारमा रहेका बगरफाँट, पर्वतबेनी, लामाखेत लगायतका बस्ती समेत नदी कटानको उच्च जोखिममा रहेका छन् । अहिले गाउँपालिका तथा नगरपालिकाको केन्द्र रहेका बजारहरु नै नदी कटानबाट जोखिममा रहेको अबस्थामा राज्यबाट संरक्षणको लागि उचित मात्रामा योजनाहरु सञ्चालन हुन आबश्यक देखिएको छ । स्थानीय तहहरु आर्थिक रुपमा बलियो नभएको सन्दर्भमा केन्द्रिय स्तरबाट यहाँका जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको योजना सञ्चालन गर्न ढिलाई गरेमा भविश्यमा ठुलै मानविय तथा भौतिक क्षति व्यहोर्नु नपर्ला भन्न सकिदैन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l