घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन सहयोग हस्तान्तरण

  • २७ बैशाख २०८१, बिहीबार
  • 101 पटक पढिएको

म्याग्दी, २७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ राम्चेडाँडामा रहेको घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन एक परिवारले आर्थिक सहयोग गरेका छन् । कुलथान परिसरमा ढलान, दियो तथा घण्टी राख्ने पूर्वाधार बनाउन बगरफाँटका दिवंगत पूर्णबहादुर घिमिरेको परिवारले रु ६३ हजार १६५ आर्थिक सहयोग गरेका हुन् ।

 

दिवंगत घिमिरेका धर्मपत्नी मायाँदेवी, छोराबुहारी भरत, लक्ष्मण, राम, विष्णु, रिता र कमला घिमिरेले उक्त सहयोग गरेका हुन् । शुक्रवार कुलथान परिसरमा आयोजित कार्यक्रममा सहयोगदाता परिवारको तर्फबाट मायाँदेवी र बुहारी कमला घिमिरेले घिमिरे बन्धु समाजका अध्यक्ष चन्द्रबहादुर घिमिरेलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
आफ्नो दिवंगत आफन्तको स्मृतिमा कुलथानमा पूर्वाधार बनाउन घिमिरे परिवारबाट प्राप्त सहयोगले थानलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको समाजका अध्यक्ष चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।
घिमिरे बन्धु समाजले कुलथान परिसरमा थान, सत्तल, घेरावार लगायतका पूर्वाधार बनाएका छन् । दिवंगत कौसिला घिमिरे र उहाँका छोरा बुहारी शिव र गिता घिमिरेको परिवारले निशुल्क जग्गा दान गरेपछि समाजले थान परिसरमा पूर्वाधार बनाउन थालेका हुन् । समाजका पूर्व अध्यक्ष डिलबहादुर घिमिरे र समाजसेवी बिरबहादुर घिमिरेले आपसी सदभाव र एकताले कुलथानलाई व्यवस्थित र धार्मिक पूर्वाधार निर्माणले तिब्रता पाएको बताउनुभयो ।