इतिहासकै सबैभन्दा गर्मी वर्ष २०१६

  • १ मंसिर २०७३, बुधबार
  • 1549 पटक पढिएको

प्रारम्भीक तथ्यांक अनुसार यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । सन् २०१६ को पहिलो ९ महिनाको तथ्यांक अनुसार सन् २०१५ भन्दा यो वर्ष गर्मी हुने देखिएको वैज्ञानिकले बताएका छन् ।

९ महिनाको तथ्यांकले यो वर्ष गएको वर्ष भन्दा गर्मी वर्ष हुने सम्भावना ९० प्रतिशत रहेको वैज्ञानिकले बताएका छन् । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको तापक्रम औद्योगिकरण भन्दा पहिलेको तुलनामा १ दशमलव २ डिग्री सेल्सियस बढी मापन भएको छ ।

यो वर्षका पछिल्ला तीन महिनाको तापक्रम पनि बढी हुने समभावना रहेको र यसले गर्दा यो वर्ष इतिहासकै सबैभन्दा गर्मी वर्ष बन्ने देखिएको डब्लुएमओले जनाएको छ । अल–निनो भनिने मौसमी प्रणालीका कारण यो वर्षको तापक्रम बढी भएको हो ।

तर तापक्रम बढ्नुको सबैभन्दा ठूलो कारण भने कार्बन उत्सर्जन रहेको वैज्ञानिकले बताएका छन् । गएको वर्ष सन् २०१५ इतिहासकै गर्मी वर्ष बनेको थियो । तर यो वर्ष त्यो भन्दा पनि गर्मी वर्ष बन्ने देखिएको हो ।