विदाई र स्वागत । ह्याप्पी न्यू ईयर ।

  • १६ पुष २०७४, आईतवार
  • एईडेन छन्त्याल
  • 2348 पटक पढिएको

विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाता छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास ।

लेखक : एईडेन छन्त्याल

पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरु सँग सामाना गरेर सकियो यो वर्ष । धेरैजना रँगमञ्चहरुमा रमाएर वित्यो यो वर्ष । धेरै योद्धाहरु युद्धमैदानमा उभिएर सकियो यो वर्ष । कत्ति ओठहरु मुस्कुराए । कत्ति नयनहरु रसाए । कसैले यो धर्तिमा पहिलोचोटीे पाईला टेके यहि वर्षवाट । कसैले चालेका पाईला अन्तिम पनि बन्यो यहि वर्षमा । कत्तिले यो वर्षवाट स्वास लिन शुरु गरे । कत्तिले अन्तिम स्वास लिएर छोडे यहि वर्षमा । कत्ति अपाङ्ग बने यहि वर्षमा । कत्ति जलेर सकिए । कत्ति डुबेर, कत्ति अंगभङ्ग भएर सकिए यहि वर्षमै ।

यो वर्षको विदाई एउटा यस्तो सुखद विदाई बन्नुपर्छ । हाँसो खुसी र उमंगले भरिएको विदाई बन्नुपर्छ । ईतिहासका पन्नाहरुमा, शिलालेखका भित्ताहरुमा लेखिने विदाई वन्नुपर्छ । यहि वर्षको अन्त्यसँगै गरिबिका अनिकालहरु अन्त्य हुनुपर्छ । कठ्याङ्ग्रीदो चिसो यो मौसममा त्रिपाल मुनीका बासहरु हट्नुपर्छ । वाटो हिँड्दा भेलले बगाएर मर्नुपर्ने अवस्था अब आउनुहुँदैन । सँधै तुईनमा झुण्डिएर ओहोरदोहोर गर्नुपर्ने दिनको अन्त्य हुनुपर्छ ।

विश्वको जुनसुकै देशमा बसेपनि उसको बस्ने ठाँऊ मात्र फेरिने हो, रगत फेरिँदैन, मन फेरिँदैन । नेपालमै जन्मेहुर्केकाहरु संसारमा जहाँ बसेपनि सबै नेपाली हो । मातृभूमीप्रतिको मायाँ र मोह सदावहार वढेर आउँछ । देश समृद्द र सम्पन्न भए कोहि बिदेशिन्न । अव नयाँ वर्षको सुरुवात सँगै बिदेशिनु पर्ने बाध्यताको अन्त्य भई बिदेशिएकाहरु स्वदेश फर्किने वातावरणको सृजना होस् । सबैका बावाहरु शरिर छेऊमै नभएर मोबाईल, कम्प्युटर, ल्यापटप तथा ट्यावहरुमा मात्र देखिने दिनको अन्त्य होस् ।

किसानहरु बिचौलियाको कब्जावाट उन्मुक्ति होस । पुर्खौदेखि मधेसमा रैथाने बसोवास गर्दै आएका नेपालीहरुलाई आफ्नै देशका नागरिकवाट दोस्रो दर्जाको नागरिक जस्तै ब्यवहार नहोस् । ईमान्दार कर्मचारीदेखि सामान्य सेवाग्राहीहरुले राज्य कसको हो र केका लागि हुनुपर्छ भन्ने कुरा थाहा पाउन सकोस् । नेपाली जनताले विकास र समृद्धि अनुभव गर्न पाईयोस् । पुननिर्माण तथा नवनिर्माणका कामहरुमा राजनितिक बिवाद नहोस् । धाराहरुमा पानि बगोस् । अन्धकारहरुमा उज्यालो छिरोस् । साक्षरता दरमा वृद्धि होस् । धुक्कसँग स्वदेशमै श्रम गरेर बाँच्न पाउने वातावरण बनोस् । बालिका हुँदादेखि नै बलत्कारको सिकार बन्नुपरेको तितो पिडा अब सुन्न नपरोस् । महिला तथा युवतीहरु आफुलाई जहिलेपनि र जहाँपनि सुरक्षित महसुस गर्न सक्ने होस् ।

प्रिय यो वर्ष । तिमी जाँदाजादैँ यो देशका सम्पूर्ण चोरीखाने वर्गहरु, भ्रष्टचारी, बलात्कारी तथा ठग, गुण्डा, तस्कर एवम् दलाली हरु को जरो उखेलेर लैजाऊ । हरेक नराम्रो काम गर्नेहरुको यहि वर्षको अन्त्यसँगै पुर्णबिराम लागोस् । अव नयाँ वर्षदेखि राम्रो कामलाई निरन्तरता तथा नयाँ कामको सुरुवात होस् । जीवनमा सुख, समृद्धि तथा उत्तोर–उत्तोर प्रगति होस् ।

ह्याप्पी न्यू ईयर ।

लेखक
एईडेन छन्त्याल

स्यानु, पुल

एईडेन छन्त्याल