सुविधा र पूर्वाधारले पर्यटक आकर्षित

  • १६ बैशाख २०८०, शनिबार
  • धिरन खत्री
  • 883 पटक पढिएको

म्याग्दी, १६ बैशाख । अन्नपूर्ण चक्रिय पदमार्ग क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरि होटल सुविधाको क्षमता विस्तार र पदमार्ग लगायतका पूर्वाधारले पर्यटकहरु आकर्षित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने चर्चित पर्यटकीय स्थलहरु घोरेपानी, पुनहिल, मोहरेडाँडा, फुलवारी, करवाकेली, खोपारा, भुरुङतातोपानी, अन्नपूर्ण आधार शिविर लगायतका क्षेत्रमा अहिले पर्यटकहरुको आगमन ह्वात्तै बढेको छ ।

गन्तव्यमा पुग्न पदमार्ग र बसोबासका लागि आरामदायि होटल, लजको क्षमता विस्तार हुनेक्रम बढेसंगै पर्यटकहरुका लागि सुविधा थपिएका छन् । घोरेपानीसम्म पुग्न सडकको पहुँच विस्तार भएपछि आन्तरिक पर्यटकहरुको आगमन बढेको घोरेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष मिना पुनले बताउनुभयो । उहाँका अनुसार, यस क्षेत्रका होटल व्यवसायिहरुले होटलको क्षमता विस्तारमा लगानी बढाएका छन् । २६ वटा होटलहरु संचालनमा रहेको घोरेपानीमा अहिले अधिकाँश व्यवसायिहरुले होटलको स्तरबृद्धि गरेर क्षमता बढाउन पूर्वाधार निर्माण गरिरहेका छन् ।

होटल ब्यवसायीले होटलको क्षमता र सुविधा विस्तारमा लगानी बढाएका छन् । अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने प्रसिद्ध पर्यटकियस्थल पुनहिलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर घोडेपानीका होटल ब्यवसायीले क्षमता विस्तार र पर्यटक बसाई लम्ब्याउने पूर्वाधारमा जोड दिएका छन् । समुद्री सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको पुनहिलबाट देखिने सुर्योदय र दर्जनौ हिमाल हेर्न आउने पर्यटकलाई लक्षित गरेर घोरेपानीमा होटल सञ्चालनमा रहेका छन् । “पर्यटकको आगमनले यहाँ होटल ब्यवसायीले राम्रो आम्दानी गरेका छन्, पर्यटकहरुको सुविधाका लागि पूर्वाधारमा लगानी बढीरहेको छ, धेरैले रोजगारी समेत दिएका छन् ।”– होटल ब्यवसायी समेत रहनुभएकी अध्यष पुनले भन्नुभयो । पछिल्लो समय यस क्षेत्रमा विदेशी भन्दा बढी आन्तरिक पर्यटक आउने गर्छन ।

पुनहिलबाट सुर्योदय, धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा असोज, कात्तिक र चैत–बैशाखमा बढी पर्यटक आउने गरेका छन् । अहिल्य पुनहिलमा दुई सय देखि ३ सय सम्म दैनिक पर्यटक आउने गरेको छन, अध्यक्ष पुनले भन्नुभयो । ‘गाईडसहित घुमफिर गर्नुपर्ने नियमले एकल रुपमा घुम्न आउने पर्यटकको कमी आएको छ।’ निश्चित समयका लागि एक्लै घुम्न मन पराउने पर्यटक बढाउनका लागि गाईडसहित घुम्न आउने नियमलाई परिवर्तन गर्नुपर्ने होटल ब्यवसायीको माग छ ।

घोरेपानीमा ३५ बर्षदेखि होटल ब्यवसाय गर्दै आउनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहनुभएका क्या डमबहादुर गर्वुजाले कोभिडपछि सुरुवातमा राम्रै पर्यटकको आगमन भएको बताउनुभयो । समयअनुसार आन्तरिक तथा बाह्य पर्यटकको चाहनालाई ध्यान दिएर आधुनिक रुपमा होटलहरु विस्तार गर्दै लगेको उहाँको भनाई छ । पक्की संरचनामा काठैकाठले बनाएको संरचना पर्यटकलले बढी रुचाउने गरेको अनुभव गर्वुजा सुनाउनुहुन्छ । आगामी दिनमा जिल्लामा पर्यटकको आगमनलाई कमि नआउने किसिमले होटलको क्षमता र सुविधा थपमा पर्यटन तथा होटल ब्यवसायीले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो

घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुन ( शुशिल) ले पर्यटकको बसाई लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुरासँ जंगलको प्रकृतिसंग रमाउने वातावरण सिर्जना गर्नका लागि लालीगुराँसको जंगलमा साईकलिङ सडक, वड वाचिङ, हर्स राईडिङ लगायतका पुर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक बर्षमा पनि डिभिजन वन कार्यालयबाट विनियोजित रु २० लाख बजेटबाट घोरेपानी नजिक कालीसारमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भैरहेको जानकारी दिनुभयो । पार्कमा कुर्चि, गोलघर, पोखरी, पदमार्ग, शौचालय, होडिङ वोर्ड लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको छ भने सार्वजनिक शौचालय निर्माण भैरहेको छ।

घोरेपानीमा आउने आन्तरिक तथा बाह्य पर्यटक लमजुङ बेशीसहर – मनाङ– मुस्ताङको पदमार्ग हुँदै घोरेपानी, कास्कीको नयाँपुल– उल्लेरी हुदै घोरेपानी भएर कास्की घान्द्रुक जाने पर्यटक र कास्कीको नयापुल, घोडपानी हुदै एविसी, अन्नपूर्ण बेसक्याम हुदै मार्दी हिमाल पुग्ने पर्यटकहरु आउने गरेको इलाका प्रहरी कार्यालय घोरेपानीले जानकारी दिएको छ । म्याग्दीको बेनी हुदै पोखरेबगर, घार, शिख चित्रे हुँदै घोरेपानी सडक र पदमार्गमार्फत विदेशी तथा स्वदेशी पर्यटक पुग्ने गर्छन । पछिल्लो समय केही मात्रामा पदयात्रामा विदेशी पर्यटक हुन्छन् भने आन्तरिक पर्यटकले यातायातमार्फत धेरै जाने गर्छन ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l