सरस्वती माविमा घर वायरिङ सिप सिक्दै विद्यार्थी ( तस्बिर/भिडियो)

  • २ जेष्ठ २०८१, बुधबार
  • 343 पटक पढिएको

म्याग्दी ,२ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुले घर वायरिङ सम्वन्धी सिप सिक्न थालेका छन् । बेनी नगरपालिकाको ‘विइ क्यान विइ डु’ कार्यक्रम अन्तरगत विद्यालयमा घर वायरिङ सम्बन्धी १५ दिने आधारभूत तालिम सञ्चालन गरिएको हो ।


विद्यालयको कक्षा ८, ९ र १० कक्षाका २० जना विद्यार्थीहरुले विहानको फुर्सदको समयलाई सदुपयोग गर्दै घर वायरिङ सम्बन्धी सिप सिक्न थालेको विद्यालयले जनाएको छ । तालिममा वायरिङका औजार उपकरणबारे जानकारी गराउने, विद्युतिय चुहावट पत्ता लगाउने, वायरिङ मर्मतलगायतको बारेमा विद्यार्थीहरुलाई सिप सिकाइएको प्रशिक्षक अर्जुन ढुङ्गानाले जानकारी दिनुभयो ।

सर्फेस (लिस्टि) राखेर गरिने वायरिङ गर्ने सिप सिकेका विद्यार्थीहरुमा घर वायरिङ सम्बन्धी आधारभूत ज्ञान, सिप र क्षमताको विकास भएको प्रशिक्षक ढुङ्गानाको भनाई छ । तालिममा सहभागी विद्यार्थीहरुलाई समूह– समूहमा विभाजन गरेर वायरिङ सम्बन्धी व्यवहारिक सिप समेत सिकाइएको छ ।

तालिममा सहभागी कक्षा ९ मा अध्ययनरत १४ बर्षका रोशन थापा मगरले विद्युतिय तारलाई मिटरबक्सदेखि वायरिङ मार्फत होल्डर र बल्ब राख्ने सम्मको आधारभूत ज्ञान र सिप सिकेको बताउनुभयो । ‘‘ अब घरमा विद्युतिय चुहावट पत्ता लगाएर मर्मत गर्न सक्ने भएका छौँ, निरन्तरको अभ्यासपछि भबिश्यमा वायरिङ पेसामा लाग्ने योजना बनाएको छु’’– उहाँले भन्नुभयो ।


वायरिङ सिप सिकेका विद्यार्थीहरुले भविश्यमा घरायसी काममा समेत उपयोगी हुने भएकाले तालिम आफुहरुका लागि फलदायि भएको बताएका छन् । विद्यालय तहबाटै विद्यार्थीहरुलाई सिपयुक्त बनाउनका लागि इच्छुक विद्यार्थीहरुलाई घर वायरिङ सम्बन्धी तालिम दिइएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।


उहाँले वडाभित्र रहेका दुई वटा माध्यमिक विद्यालयमा यस बर्ष विद्यार्थीहरुका लागि सिपमुलक कार्यक्रम कार्यान्वयन गरिएको बताउनुभयो । वडा नम्बर ४ को धवलागिरि माध्यमिक विद्यालयमा पेन्टिङ सम्बन्धी तालिम दिने तयारी गरिएको छ । यस विद्यालयमा यसअघि घर वायरिङ, च्याउखेती र मोडा बुनाई सम्बन्धी तालिम दिइसकिएको वडा कार्यालयले जनाएको छ ।


विद्यार्थीहरुलाई कमाउँदै पढ्दै कार्यक्रममा आबद्ध गराउन बेनी नगरपालिकाले गत बर्षदेखि ‘विइ क्यान विइ डु’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यस बर्ष नगरपालिकाभित्र रहका १६ वटा सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई सिप सिकाई सम्बन्धी तालिमहरु सञ्चालन भैरहेको बेनी नगरपालिकाका शिक्षा उप–सचिब हेमचन्द्र पौडेलले जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीहरुलाई सिपको विकास र श्रमसंग जोड्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।