हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

  • ८ बैशाख २०८१, शनिबार
  • 679 पटक पढिएको

म्याग्दी  ८ वैशाख । अष्ट्रेलियाका पिटर जेटी हल सन १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ ।
नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा खयर क्षेत्रमा पुग्नुभएका पिटर यहाँको प्राकृतिक सौन्दयर्ताले लोभिनुभयो । भ्रमण सकेर स्वदेश फर्किएको पिटरको समूह सन १९९८ मा पुनः सोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा खयर क्षेत्रको पदयात्रा मात्रै गरेरनन्, उनीहरुले यसै पदमार्गमा पर्ने पाउद्धार गाउँमा पुगेर गाउँको अवस्था र समस्याहरुसंग अन्तरघुलन हुने प्रयास गरेका थिए ।
‘‘पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसंग भेट भएपछि हामी समुदायको अगुवाईमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ’’– पिटरले भन्नुभयो । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आउनुभएका पिटर यस बिचमा १९ पटक नेपाल आउनुभएको छ । सन २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनः पाउद्धार गाउँमा पुग्नुभएको थियो । यस पटक पिटरको भ्रमण पाउद्धार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उदेश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्धार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाईमा सञ्चालन भएको पाउद्धार मावि सहित यस क्षेत्रका सामुदायिक विद्यालयहरुको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो ।
चौथो पटक सन २००८ मा नेपाल आउनुभएका पिटरले ग्रामिण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामाग्रीको व्यवस्थापन सम्वन्धमा शिक्षकहरुलाई तालिम दिने योजना अघि सार्नुभयो । तत्कालिन शिख गाविस अन्तरगतका विभिन्न ६ वटा विद्यालयलका शिक्षकहरुलाई पिटरले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेर रिड नेपाल मार्फत तालिम दिन सुरु गर्नुभएको थियो ।
सुरुवातका बर्षहरुमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आउनुभएका पिटरले पछिल्लो एक दशक यता भने संस्थागत रुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । तत्कालिन पाउद्धार माविका शिक्षक समेत रहनुभएका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभाबकारी बनाउन थालिएको छ ।
लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालिन शिख गाविसका विद्यालयहरुमा सूरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकहरुलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्वन्धमा तालिम प्रदान गरिसकेको यस अभियान अन्तरगत रघुगंगा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताउनुभयो ।
‘‘ अभियान्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन मार्फत हामीलाई बार्षिक रुपमा ७० देखि ७५ लाख रुपैयाँ बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहहरुसंग साभेदार गरेर शिक्षकहरुलाई तालिम प्रदान गर्छौ, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी बर्षमा म्याग्दीका थप पालिकाहरुमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ’’– तिलिजाले भन्नुभयो ।
नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आउनुभएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरुलाई कक्षाकोठामा शैक्षिक सामाग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, बिषयगत शिक्षण सिकाई तथा सिर्जनात्मक कला लगायतका बिषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
‘‘गाउँपालिका भित्रका सबै विद्यालयका शिक्षक कर्मचारीहरुलाई छुट्टाछुट्टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षाकोठालाई शैक्षिक सामाग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छाँै’’–अध्यक्ष भण्डारीले भन्नुभयो । लर्न र क्वालिटी एजुकेशनले शिक्षक तालिम संगै सामुदायिक विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला समेत स्थापना गर्न थालेको छ ।
क्वालिटी एजुकेशन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस बर्ष जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा मावि र धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास माविमा २०÷२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । रासस