मलेसियामा गैरकानुनी आप्रवासीमाथि थप कडाई

  • २८ श्रावण २०७४, शनिबार
  • 2063 पटक पढिएको

मलेसिया, २८ साउन । मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको छ । पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने र पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको जनाइएको छ ।

गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई बैधानिकता दिन यसअघि पटक–पटक ‘दर्ता कार्यक्रम’ संचालन गरिसकेको मलेसियाले त्यस्तो कार्यक्रममा सहभागी नभई बैध अनुमतिबिनै मुलुकमा बसोबास गरिरहेका आप्रवासीलाई पक्राउ गर्न गत जुलाई १ देखि देशव्यापी अभियान संचालन शुरु गरेको थियो ।

नीय संचारमाध्यमका अनुसार त्यसयता करिब ५ हजारभन्दा बढीको संख्यामा त्यस्ता आप्रवासीहरु पक्राउ परीसकेका छन् । ती बाहेक सयभन्दा बढी रोजगारदाताहरु छन् । पक्राउ पर्नेमा आप्रवासी कामदार, विद्यार्थी, रोजगारदाता लगायत छन् । तीमध्ये बहुसंख्यक आप्रवासी कामदार रहेका छन् ।

मलेसियाले पछिल्लो समय दैनिकजसो त्यस्ता आप्रवासीको व्यापक खोजी गरी पक्राउ गर्दै आइरहेको छ । आप्रवासी कामदारका जमघट हुने ठाउँदेखि उनीहरु लुकेर बस्नसक्ने सम्भावित ठाउँहरु अध्यागमन अधिकारीहरुको निशानामा परेका छन् । मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीहरुको संयुक्त टोलीले उनीहरुको खाजी गरि पक्राउ गर्ने अभियान जारी राखीएको जनाइएको छ ।

मलेसियाली अधिकारीहरुले गैरकानुनी आप्रवासीको खोजी अभियान अन्तर्गत गत साता आप्रवासी कामदारको जमघटको प्रमुख थलोमध्येको एक मानिने राजधानी क्वालालम्पुरको जलान सिलाङ, लेबु पासार, मस्जिद ईण्डिया लगायत क्षेत्रमा धरपकड अभियान संचालन गरेको थियो । तीमध्ये कतिपय स्थानमा दैनिकजसो खोजतलासी गर्ने गरिएको छ ।

सुरक्षा सतर्कता

मलेसियाले अर्को सातादेखि सुरु हुने दक्षिणपूर्वी एसियाली खेलकुद प्रतियोगिताको नजिकिंदै गर्दा सुरक्षा सतर्कता थप कडाई गरिएको समेत जनाइएको छ । मलेसियामा अर्को सातादेखि शुरु हुने (अगष्ट १९ देखि ३० अगष्टसम्म) उक्त खेल प्रतियोगिता आयोजना हुँदैछ ।

पछिल्लो एकसातायता आतंकवादविरुद्ध सुरक्षा कारबाही थालिएको समेत जनाइएको छ । मलेसियाको ‘डिजीटल हब’ मानिने साइबरजया क्षेत्रमा गत बुधबार देखि बिहीबारसम्म गरिएको त्यस्तो कारबाहीमा २९० जना भन्दा बढी आप्रवासीलाई नियन्त्रणमा लिइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समयमा उक्त खेल प्रतियोगिताको सुरक्षा व्यवस्थालाई ख्याल गर्दै आतंकवादविरुद्ध गरिएको सुरक्षा सर्तकतामा झण्डै ४ सयजना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिसकिएको जनाइएको छ ।

पक्राउ पर्नेमा नेपाल, बंगलादेश, यमन, पाकिस्तान, सिरिया, भारत सुडान र प्यालेस्टाइन लगायत देशका नागरिकहरु रहेको बताइएको छ । तर उनीहरुमध्ये ५७ जनासँग मलेसिया बस्ने ‘बैधानिकता पत्र’ नभएको पाईएको र उनीहरु कोहीपनि आतंकबादीहरुको सम्पर्क व्यक्ति नभएको जनाइएको छ ।

-कान्तिपुर