गाम्फाधुरी लाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीय सक्रिय

  • १० पुष २०८०, मंगलवार
  • 169 पटक पढिएको

बेनी, १० पुस : म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका स्थानीय धार्मिक पर्यटकीय स्थल गाम्फाधुरीलाई पर्यकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । मंगला–४ र बागलुङको ताराखोला गाउँपालिका–३ को सिमाक्षेत्रलाई समेटिएको गाम्फाधुरी प्राकृतिक रुपमा मनोरम र ऐतिहासिक महत्वका हिसाबले तपस्वीहरुले तपस्या र ध्यान गरेर ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ ।
समुद्री सतहदेखि ३ हजार ९ मिटर उचाईमा अवस्थित रहेको गाम्फाधुरीबाट मानापाथी, अन्नपूर्ण, धौलागिरि, गुर्जा, चुरेन माछापुच्छ्रेलगायतका आधा दर्जन बढी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । धौलागिरि र अन्नपूर्ण हिमशृङखलाको साथै म्याग्दी, पर्वन, बागलुङ लगायतका जिल्लाको दर्जनौँ गाउँबस्ती र ग्रामीण भु–भागको अवलोकन गर्न सकिने स्थानीय होममायाँ पुन बुढाथोकीले बताउनुभयो ।
म्याग्दीको मंगला गाउँपालिका–४ का वडा सदस्य समेत रहनुभएका बुढाथोकीले यस क्षेत्रको प्रचार प्रसार र पर्यटन पूर्वाधार बनाउन सके गाम्फाधुरी धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताउनुभयो । बुकेनी गाउँको शिरमा रहेको गाम्फाधुरीबाट हरियाली जंगल, तरेली परेका फाँट र जैविक विविधतायुक्त ग्रामीण भू–वनोटको अवलोकन गर्न पाउँदा पर्यटकहरु लोभिने गर्छन् ।
गाम्फाधुरीमा १००८ स्वामी परमानन्द महाराजले तपस्या गरी ज्ञान आर्जन गरेकाले यो क्षेत्रलाई धार्मिक र ऐतिहासिक स्थलका रुपमा समेत विकास गर्ने योजना रहेको मंगला गाउँपालिका–४ का वडा अध्यक्ष लालबहादुर रोका मगरले बताउनुभयो । गाम्फाधुरीमा तपस्बीहरुले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेषका साथै हिउँदयाममा पानी संकलनका लागि ढुङ्गा खोपेर बनाइएको कुवा रहेका छन् ।
‘‘प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक महत्वका हिसाबले गाम्फाधुरीको धेरै महत्व छ, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि हामीले पहल थालेका छौँ, पूर्वाधार बनाउन गाउँपालिका,प्रदेश र संघीय सरकार समक्ष योजना माग गरेका छौँ’’–वडा अध्यक्ष मगरले भन्नुभयो । यहाँ रहेका भग्नावशेषको रूपमा परिणत भएका संरचनाको संरक्षण संगै पदमार्ग, सडक, खानेपानी, आश्रयस्थल लगायतका पूर्वाधार निर्माण गर्न पहल थालिएको वडा कार्यालयले जनाएको छ ।
पूर्वाधार निर्माणको पहल संगै प्रचार प्रसार र प्रवर्धन गर्न स्थानीयबासीको नेतृत्वमा अभियान सञ्चालन गरिएको छ । वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि तपस्या र ध्यान गरेर ज्ञान शिक्षा प्राप्त गरेको वडा अध्यक्ष मगरले बताउनुभयो ।
यसैगरी स्वामी परमानन्दले २०१८ सालमा बरंजाकै दुर्दिमा शिवालय मन्दिर स्थापना गर्नुभएको थियो । बुकेनी गाउँबाट करिब साढे ३ घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ भने चर्चित पर्यटकीय स्थल झाँक्रेपानीबाट समेत गाम्फाधुरी जाने परम्परागत गोरेटो बाटो जोडिएको छ । घनाजंगलको बिच हुँदै बनाइएको परम्परागत गोरेटोबाटोमा शान्त, मनोरम र साहसिक पदयात्रा गर्न रुचाउनेहरुका लागि गाम्फाधुरी उपयुक्त गन्तव्य रहेको बेनीबाट पहिलो पटक गाम्फाधुरी पुग्नुभएका अमित विश्वकर्माले बताउनुभयो ।