क्षेत्रीय अध्यक्षदेखि कार्यबाहकसम्म भएर काम गरें, त्यसैले जसस पोर्चुगलको अध्यक्षमा मेरो उम्मेद्वारीः वकिल केसी

  • १९ मंसिर २०७८, आईतवार
  • 1669 पटक पढिएको

म्याग्दीका होनहार युवा वकिल केसी यतिबला युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । कामदारबाट मालिक बनेका उनै केसी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेस म्याग्दीका सक्रिय सदस्यका रुपमा रहेर काम गरेका केसी अहिले नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षका उम्मेद्वार हुन । पोर्चुगलमा क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर काम गर्दै आएका उनले लामो समयसम्म समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेर पनि काम गरे । अहिले समितिको छैटौं अधिवेशनमार्फत उनि अध्यक्ष पदका लागि चुनावी मैदानमा छन । अघिल्लो पटक आफैंसँग हारेका युवराज पन्थी केसीको प्रतिस्पर्धीका रुपमा मैदानमा ओर्लिएका छन । अध्यक्षका प्रत्यासी उनै केसीसँग हामीले जनसम्पर्क समिति पोर्चुगलको समग्र अवस्था, उम्मेद्वारी र भावी कार्ययोजनाका बारेमा कुराकानी गरेका छौं । उनै केसीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षमा तपाईको उम्मेद्वारी हो ?
पक्कै पनि हो । आज समितिको छैटौं अधिवेशन चल्दै छ । हामी सबै एकैठाउँमा उभिएर अधिवेशन सफल बनाउन लागिपरेका छौं । अधिवेशनले आगामी कार्यकालका लागि योग्य, संगठनलाई समय दिन सक्ने अनि सबैलाई मिलाएर लैजान सक्ने खालको उम्मेद्वार खोज्ने छ । त्यसमा मैले क्षत्रिय अध्यक्षदेखि कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेको छु । त्यसैले प्राप्त अनुभव र साथीभाईको सल्लाह अनि आग्रहलाई मध्यजर गर्दै अध्यक्षमा उम्मेद्वारी दिएको छु । आशा छ सबैले माया गर्नुहुनेछ ।

अधिवेशन गराउने सन्दर्भमा केही विवादका कुरा पनि सुनिएका थिए ?
युरोप मै पोर्चुगल एउटा त्यस्तो मुलुक हो, जुन धेरै नेपाली बसोबास गर्ने मुलुक हो । त्यसमा पनि कांग्रेससँग आस्था राख्नेहरुको बाहुल्यता छ । त्यसैले संगठनभित्र सानातिना विवाद आउनु पनि स्वभाविक नै हो । अध्यक्ष ज्यूको कार्यव्यस्तताले गर्दा उहाँ बेलायततिर नै हुनुहुन्थ्यो । मैले कार्यबाहक चलाएको थिएँ । केन्द्रले अघिल्लो दिन अध्यक्ष ज्यूलाई र भोलीपल्ट मलाई अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व छनोट गर्न भन्दै पत्र पठायो । तत्काल अधिवेशन गर्नका लागि कार्यसमितिका बहुमत पदाधिकारी पोर्चुगल बाहिर भएका कारण मैले अधिवेशनको मिति तय गरें । यसैलाई मुद्धा बनाएर सामान्य विवाद मात्रै भएको हो । अहिले केही विवाद छैन ।

तपाईसँग अर्का प्रतिस्पर्धी पनि अध्यक्षका लागि मैदानमा हुनुहुन्छ । तपाईहरु बीच आपसी सहमति केही भएन ?
यसपटक म नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षको दावेदार हुँ । मैले उम्मेद्वारी पनि घोषणा गरीसकेको छु । मेरो उम्मेद्वारी स्वभाविक पनि छ । क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रको उपाध्यक्ष र कार्यवाहक अध्यक्षसम्म भएर काम गरें । किन मैले अध्यक्ष हुन मिलदैन् र ? तपाईं आफैं सोच्नुहोस मेरो उम्मेद्वारी अध्यक्षका लागि हुनुपर्छ कि पर्दैन् ? म कुनै पनि हालतमा अध्यक्षमा लड्नुपर्छ । कि अध्यक्ष बनाउनुप¥यो कि अर्को जाने ठाउँ देखाइदिनुप¥यो ।
अन्ततः दुईजना बिच प्रतिस्पर्धा नै हुने भयो त ?
प्रजातान्त्रिक संस्थामा रहेर काम गर्ने अनि प्रतिस्पर्धावाट समस्या हुन्छ भन्नु पनि त भएन । स्वभाविक हो प्रतिस्पर्धामा दुई वा सो भन्दा धेरैजना हुन्छन् । यसमा मलाई केही फरक पर्दैन् । अध्यक्ष चलाउन सक्छु भन्नेहरु चुनावी मैदानमा नै ओर्लने हो । जति जना आएपनि मलाई केही फरक पर्दैन् । तर कसको उम्मेद्वारी ठिक र को नेतृत्वमा आउँदा संगठन र समाजले राहत महशुस गर्छ भन्ने कुरा त मतदाताले नै बताउने हो । मलाई विश्वास छ सबैको सहमति र सहकार्यबाट म नै अध्यक्ष हुन्छु । सबैलाई चित्त बुझाउने र मिलाउने अनि संगठनलाई बलियो बनाउने काम म गर्छु । विगतमा पनि गर्दै आएको हो ।
सामान्य कार्यक्रमदेखि राहत, संस्थाको अन्य कामकाजका लागि वकिल नै लगानी गर्छ भन्नेहरु पनि धेरै छन नी ? यसमा के छ तपाइको भनाई ?
यसमा मलाई धेरै कुरा गर्नुछैन । सहयोग सकेको गर्ने हो । हामी प्रवासमा छौं, हामीले एउटा साथी, परिवार अनि देशलाई दुःख परेको बेला हेरेर मात्रै बस्न सक्दैनौं । लगानी गर्छ भन्नेहरुले कुन अर्थमा भने मलाई थाहा छैन, तर संगठनको आवश्यक कामको लागि आजसम्म आर्थिक, सामाजिक, सांस्कृतिक हरेक हिसाबले म पछि हटेको छैन ।

के छ त तपाईका आकर्षक कार्यक्रम, जसले संगठनलाई थप बलियो बनाउन सहयोग पु¥याउँछ ?
पहिले त पार्टीको नीतिगत निर्णयहरुलाई नैतिक समर्थन गर्दै आम मानिसलाई पार्टीको विचारमा आकर्षित गर्नु नै हो । अर्को कुरा प्रवासमा रहेका अधिकांश जनसम्पर्क समितिहरु आर्थिक हिसावले निकै कमजोर छन् । यसको श्रीबृद्धि र आर्थिक अवस्था मजवुत बनाउनुपर्छ । जसले गर्दा प्रवासमा मात्रै होइन् स्वदेशमा बस्ने प्रजातन्त्रप्रेमीलाई समेत फाइदा पुग्नेछ । त्यसैले संगठनलाई आर्थिक हिसावले बलियो बनाउन पहल गर्नेछु । यस्तै, प्रवासमा कांग्रेससँग आस्था राख्नेहरुलाई पनि संगठनमा गोलबद्ध गर्नेछु । त्यस्तै, गैर आवासीय नेपालीको विद्यमान दोहोरो नागरिकता सम्बन्धी समस्यालाई पार्टी नेतृत्वसँग बसेर छलफल गर्छु । साथै पोर्चुगलमा रहेका साझा समस्याहरुलाई पनि सामाजिक तवरले हल गर्नको लागि अग्रसर भएर लाग्नेछु ।

सर्वसम्मत हुने आधार के देख्नुहुन्छ ?
म पटक पटक संगठनभित्र बसेर संगठनका लागि काम गरेको छु । यति मात्रै होइन् संगठनलाई आवश्यक पर्दा आर्थिक सहयोगदेखि अन्य धेरै काम गरेको छु । म केन्द्रमा गएर वा केन्द्रीय नेतालाई प्रभावित पारेर न कुनै पद नै लिएको छु । त्यसैले यसपटक म माथि न्याय हुन्छ । अर्को कुरा भनेको आज हामीलाई कार्यकालभरी संगठन हाँक्ने व्यक्तिको खाँचो परेको हो । मेरो व्यवसाय पनि छ, त्यसैले संगठन हाँक्न सक्ने खुबी मसँग छ ।

समितिको अध्यक्ष भएपछि रातो पासपोर्ट लिएर अर्को मुलुक जाने योजनामा त हुनुहुन्न ?
मैले संगठनलाई समय दिन सक्छु भनेर नै यो सोच बनाएको हुँ । सबैभन्दा ठूलो कुरा समयको व्यवस्थापन हो । अलिकति बढि समय खट्नुपर्छ, त्यो मलाई राम्रोसँग थाहा छ । तर सकिन्छ र सक्छु भन्ने नै छ । सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो, यति भएपछि अरु कुरा भनेको गौण हुन् । म कम्पनी पनि चलाउँछु, आर्थिक उपार्जन पनि गर्छु अनि सँगसँगै संगठन पनि हाँक्छु । म अहिले पनि अस्थायी बसोबास अनुमति कागजकै भरमा पोर्चुगलमा बस्दै आएको छु । जनसम्पर्कको राजनीतिसँगै आफ्नै व्यवसायमा रमाएको छु । पोर्चुगलले सबै कुरा दिएकोले छाड्न मन छैन् ।

तपाई त रोजगारदाता पनि । कति नेपालीले काम गर्छन नी ?
साँच्चै हो । यहाँले सही प्रश्न गर्नुभयो । अहिले मेरो कम्पनीमा सिजनमा १५० वरीपरी कामदारले काम गर्छन् भने अफसिजनमा ७० देखि १०० जना कामदारले काम गर्छन् । हामीले सकभभर नेपाली कामदारलाई प्राथमिकतामा राखेका छौं ।

अहिलेको कार्यसमितिमा भएका अधिकांश व्यक्तिहरु पोर्चुगल छाडेर बेलायत लगायतका मुलुकमा गइसकेको अवस्था छ । यो अधिवेशनमा पनि त्यस्तै व्यक्तिलाई छान्ने हो की ?
अब यो विषय मैलेभन्दा पनि मतदाताले बढी वुझ्नुपर्दछ जस्तो लाग्छ । मतदाताले आफुले छानेको नेतृत्व संगठनमा कति समय काम गर्न सक्छ, संगठनका लागि काम गर्न सक्छ या सक्दैन् भन्ने कुरा ख्याल गर्न जरुरी छ । यसो भन्दैमा वर्तमान कार्यसमितिलाई मैले अपजस दिन खोजेको होइन् । कोरोनाका कारण अधिवेशनको समय थप्दै जाँदा यसपटक यो समस्या आएको हो । सबै पदाधिकारीप्रति मेरो सम्मान छ । तर पनि आम मतदाताले यस्ता विषयमा चनाखो बन्न जरुरी छ ।
यतिखेर नेपाली कांग्रेस महाधिवेशनको दौरानमा छ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास गरिरहेका छन् । यस विषयमा यहाँ के भन्नुहुन्छ ?

नेपाली कांग्रेसले मुलुकको संविधान र सङ्घीय ढाँचामा आफ्नो विधान निर्माण गरेको छ । अहिले कांग्रेसका समग्र देशका कार्यकर्ताहरू प्रजातान्त्रिक अभ्यासमा छन् । तपाइँले देखिरहनुभएको छ नि देशका अरु पार्टीहरू पनि महाधिवेशनमा छन्, तर हाम्रोजस्तो खुला हृदयले निर्वाचनमा जाने र प्रजातान्त्रिक अभ्यास गर्ने काम अन्त कहाँ देखिएको छ ? हाम्रो विधान बढी समावेशी छ, जसले एकतिहाइ महिलाको स्पष्टसँग सुनिश्चितता छ । वडादेखि केन्द्रसम्म नै कुनै पनि वर्ग समूहको तथा जनसङ्ख्याका आधारमा समेत प्रतिनिधित्व सुनिश्चित हुने कुरा हाम्रो विधानमा स्पष्ट व्यवस्था छ । यो व्यवस्थाले ठूलो सङ्ख्यामा धेरै पृष्ठभूमिका मानिसहरू समेटिन्छन्, उनीहरू यो अभ्यासमै छन् ।

अन्त्यमा केही भन्नु छ ?
हेर्नोस्, मैले जहाँ जिम्मेवारी लिन्छु त्यहाँ पूर्ण समर्पण र लगावका साथ काम गर्छु, गरेकै छु । जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनसँगै आगामी कार्यकालका लागि अध्यक्ष पद लिएर तपाईहरुमाझ आएको छु । यस पदको जे–जस्तो गरिमा र जिम्मेवारी रहन्छ त्यो मैले कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । त्यसैले एकपटक संगठनको अध्यक्ष बनेर काम गर्नका लागि सबैले मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।