लाम्पाटाको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध. सडक खुलाउन सकस

  • २ आश्विन २०८२, बिहीबार
  • 41 पटक पढिएको

बाबियाचौर, म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ ।

मङ्गला गाउँपालिका–२ लाम्पाटामा बुधबार राती खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएको छ । गत वर्ष कालोपत्र भएको सो ठाउँको सडकको डिलतर्फ राखिएको फलामको बार पहिरोले भाँचेको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवत जावत, ढुवानी र निकासीमा समस्या भएको छ । निर्माणाधिन जलविद्युत, प्रशारण लाइन, सवस्टेशन, सडक, भवन लगायतका विकास आयोजनाहरु प्रभावित भएका छन् ।

वि.स. २०७३ अघि पनि लाम्पाटामा पहिरोको समस्या थियो । तत्कालीन जिविसले एशियाली विकास बैंकको सहयोगमा सो ठाउँमा पहिरो नियन्त्रण गरेको थियो । सडक माथिबाट नौ वर्षपछि पुनः पहिरो खस्न थालेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
“लाम्पाटामा सडक माथीको पाखो थप चर्किएकाले जुनसुकै बखत ठूलो पहिरो खस्ने जोखिम छ,” उहाँले भन्नुभयो “दरवाङ जान आउनका लागि हलुका सवारी साधनका लागि माटेबगर–पोक– पिपलबोट–छिसवाङ– खोप्टी– छ्यारछ्यारे–दरवाङ जोड्ने वैकल्पिक सडकको व्यवस्था मिलाएका छौ ।”

अध्यक्ष रोकाले बिहिबार सार्वजनिक सूचना जारी गरेर पैदलयात्रुहरुका लागि बाबियाचौर– डौडेखोला– रसपुर–अल्काचौर–लाम्पाटा पदमार्ग प्रयोग गर्न अनुरोध गर्नुभएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले अपराहन्न देखि डोजर परिचालन गरेर सडकको पहिरो पन्छाउन सुरु गरेको बताउनुभयो ।

पहिरो पन्छाउने डोजर पर्वतको मिलनचोकबाट टेलरमा राखेर लैजानुपर्ने भएकाले ढिलाई भएको उहाँले बताउनुभयो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली आफै पहिरो स्थलमा पुगेर सडक खुलाउन पूर्वाधार विकास कार्यालयसँग समन्वय गर्नुभएको छ ।

बेनी देखि लाम्पाटा जाने क्रममा डोजरले बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोमा सडक फराकिलो बनाएको छ । पहिरोले सडक साघुरिदाँ ठूला सवारी साधन आवत जावतमा समस्या भएपछि फराकिलो पारिएको हो ।

फापरखेत, लाम्पाटा र बाङ्गेपहिरो २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको चुनौति तबनेका छन् । यो सडक गण्डकी प्रदेश सरकार मार्फत स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।