मल्कबाङलाई नमुना र समृद्ध बनाउने काम गर्छु : वडा अध्यक्ष खर्ककुमारी छन्त्याल

  • १४ जेष्ठ २०७४, आईतवार
  • 5794 पटक पढिएको

म्याग्दी, १४ जेठ । दुर्गम बस्ती । विकासका पूर्वाधारहरुको अभाब । स्रोत साधनको न्युन उपलब्धता । भौगोलिक विकटता । अशिक्षा र गरिबी जस्ता थुप्रै समस्याहरु छन्, मल्कबाङमा । यिनै समस्या र चुनौतीहरुलाई सामना गर्न योजना बुन्दै हुनुहुन्छ, धौलागिरी गाउँपालिका– ५ मल्कबाङकी वडा अध्यक्ष खर्ककुमारी छन्त्याल । वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा काँग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेद्वार बन्नुभएकी उहाँले कुल ४८४ खसेको मत मध्ये ३९४ मत ल्याएर भारी मतले बिजयी हुनुभएको थियो । सामाजिक सेवाको कार्यमा निकै रुचि राख्दै आउनुभएकी छन्त्याल यतिबेला जनतालाई सेवा सुविधा प्रवाह संगै थुप्रै समस्या र चुनौतीहरुले घेरिएको गाउँलाई विकास र समृद्धितर्फ अगाडी बढाउन सम्भावनाहरुको खोजी गर्दै हुनुहुन्छ ।

दुर्गम गाउँमा महिला वडाअध्यक्षको रुपमा आफुलाई स्थापित गराउन सफल छन्त्यालले यस अघि महिला स्वास्थ्य स्वयमसेविकाको रुपमा समेत गाउँमा सेवा गरिसक्नुभएको थियो । आधारभुत तहको अध्ययन गर्नुभएकी छन्त्यालले कामबाटै काम सिक्ने भन्दै जनतालाई सुविधा दिन र गाउँमा विकास पुर्‍याउनु नै आफ्नो मुख्य कार्यभार भएको अनुभुति भएको सुनाउनुभयो । अहिलेसम्म सडक सञ्जालको पहुँच पुग्न नसकेको मल्कबाङमा जतिसक्दो छिटो मोटरबाटो पुर्‍याउने उहाँको योजना छ । दरबाङ–खारा हुँदै मराङको बेशी नजीकसम्म पुगेको सडकलाई विस्तार गरि मल्कबाङका जनतालाई सवारी साधन हुँदै ओहोर दोहोर गर्ने सुविधा पुर्‍याउने कार्यलाई आफुले महत्व दिने उहाँले बताउनुभयो । ‘‘ जिल्लाबाट पनि यो योजनालाई प्राथमिकतामा राखिएको छ , मराङ–मल्कबाङ हुँदै कुईने पुर्‍याउने ।

वडा अध्यक्ष छन्त्यालका अनुसार, अहिले गाउँपालिकाको केन्द्र मुना जान स्थानीयबासीलाई निकै असुविधा भएको गुनासो आएको छ । सडकको पहुँच नपुगेको र गोरेटोबाटोको अबस्था जिर्ण रहनुको साथै नजीकको अर्को गाउँपालिकाको केन्द्र नाघेर घन्टौको यात्रापछि मात्रै आफ्नो केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको छ । मल्कबाङबासीहरुले  आफुहरुलाई पायक पर्ने गाउँपालिकामा समायोजन वा छन्त्याल समुदायको बाहुल्यता रहेकाले बिशेष संरक्षित क्षेत्र घोषणा गर्न माग गरेको कारण आफुले जनताका आवाजहरुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याएर समाधानको लागि समेत प्रयास गर्ने बताउनुभयो । नवनिर्वाचित वडाअध्यक्ष छन्त्यालले आफु महिला भएपनि गाउँका जनतालाई सेवा सुविधा प्रदान संगै गाउँका समस्या समाधान र सम्भावनाहरुको उजागर गर्न आफु प्रतिबद्ध रहेको बताउनुहुन्छ । उहाँलाई आफ्नो घरपरिवारबाट समेत पूर्ण रुपमा सहयोग रहेको छ ।

महिलाहरु सामाजिक क्षेत्रको नेतृत्व लिन सक्दैनन भन्ने भ्रमलाई चिर्दै ४० बर्षिय छन्त्याल वडाअध्यक्षमा निर्वाचित भएपछि उहाँका श्रीमान अमर छन्त्याल पनि निकै हर्षित हुनुहुन्छ । उहाँले वडाअध्यक्षमा आफ्नो श्रीमती बिजयी हुनुले महिलाहरु पनि समाजका हरेक कार्यमा सक्षम छन भन्ने कुराको पुष्टि गरेको बताउँदै वडाअध्यक्षको रुपमा उहाँको कार्यकाल सफल बनाउन आफ्नो तर्फबाट सबै सहयोग गर्ने बताउनुभयो । गाउँमा ३० बर्ष भन्दा अगाडी निर्माण गरिएको खानेपानी आयोजना जिर्ण बनेको कारण एक घर एक धारा अभियानलाई सफल बनाउन योजना माग गरिसकिएको उहाँले बताउनुभयो । त्यस्तै, छिरी खोला, भ्वाङे खोला, नन्दीबाङखोलामा झोलुङे पुलको अभाब छ । बर्खायाममा आउने बाढीले आवत जावत नै अबरुद्ध हुने भएकाले जतिसक्दो छिटो ति खोलाहरुमा झोलुङ्गे पुल निर्माण गर्ने वडाअध्यक्ष छन्त्यालले योजना बनाउनुभएको छ ।

दुर्गम र भौगोलिक रुपमा बिकट रहेकाले स्थानीय तिन वटा सामुदायिक विद्यालयमा देखिएको आर्थिक समस्या हल गर्न र आबश्यक दरबन्दी थप गर्नका लागि कार्ययोजना निर्माण गर्ने, गोरेटो बाटोहरुको स्तरोन्नती गर्ने, स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाहको लागि पहल गर्ने योजनाहरुलाई समेत प्राथमिकता दिएको छन्त्याल बताउनुहुन्छ । तिन वटा बस्तीहरुमा विभाजन भएको मल्कबाङमा गत बर्ष मात्रै लघुजलविद्यूत आयोजना निर्माण गरि स्थानीयले विद्युतको उपयोग गर्दै आएका छन् । त्यो अघि सोलारको प्रयोग गरेका स्थानीयले डिसीआरडिसी र बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रसंगको सहकार्यमा वैदेशिक रोजगारिमा गएका स्थानीय युवाहरुबाटै चन्दा संकलन गरि ४२ किलोवाट क्षमताको नन्दीबाङखोला लघुजलविद्यूत अयोजना निर्माण गरेका थिए । साविकको मल्कबाङ गाविसको वडा नम्बर ७ देखि ९ सम्म  रहेको मलम्पारमा अझैपनि विद्युतको पहुँच पुग्न नसकेपनि निकट भविश्यमै पोलहरु विस्तार गरि त्यहाँ पनि सो विद्युत सुविधा पुर्‍याउने तयारी गरिएको छ ।

शिक्षा, स्वास्थ्य, यातायात, अशिक्षा लगायतका याबत समस्याहरुका बिच गाउँलाई समृद्धिको दिसामा लैजान सकिने अठोट कसेकी वडाअध्यक्ष छन्त्यालले जंगल, जडीबुटी, खानी लगायतको उपयोग मार्फत आर्थिक उपार्जनका योजनाहरु सुनाउनुभयो । मल्कबाङमा परम्परागत रुपमा छन्त्याल जातीले मुख्य पेशाको रुपमा अंगालेको खानी उत्खननका अबशेषहरु अझै पनि धेरै छन् । गाउँमा भग्नाबशेषमा परिणत हुन लागेका दर्जनौँ ती तामाखानीलाई उत्खनन्को लागि समेत पहल गर्दै गाउँ र गाउँपालिकाको समृद्धिको लागि पहल गर्ने वडाअध्यक्ष छन्त्यालको भनाई छ । मल्कबाङको उच्च हिमाली क्षेत्रमा प्रशस्त मात्रामा यार्सागुम्बा, निरमसी, सतुवा, कटुकी, जटामसी, समय, लगायतका जडिबुटी पाइने गर्छ । अहिले ति जडिबुटीहरुको व्यबस्थित उत्खनन र निकासी हुन नसकिरहेको सन्दर्भमा त्यसलाई व्यवस्थित गर्न सकेमा गाउँको मात्रै नभएर गाउँपालिकाकै विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

त्यस्तै प्रशस्तै जंगल क्षेत्र रहेको यस क्षेत्रमा दाउरा काठको उपयोगसंगै परम्परागत बाख्रापालन , भेडापालन र कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गराउँदै युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारिको अबसर सृजना गर्न सकिने छन्त्याल बताउनुहुन्छ । उहाँले मल्कबाङलाई पर्यटनसंग जोड्नका निम्ती छन्त्याल समुदायको बाहुल्यता रहेकाले परम्परागत कला संस्कृतिको संरक्षण संगै पदमार्ग निर्माण योजनालाई अगाडी सार्नुभएको छ । मराङ बेशी– मल्कबाङको मागोस डाँडा – पुतलीडाँडा, रुवाचौर हुँदै धौलागिरी हिमालकोे फेदीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल कुईनेमंगलेको रिखार क्षेत्रमा पदमार्ग पुर्‍याउन सकियो भने प्रशस्त मात्रामा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने वडा अध्यक्ष छन्त्यालको भनाई छ । पहिले उम्मेदवार बनाएपछि गाउँघरमा पुगेर आफ्नो योजना सुनाउँदै मत मागेकी छन्त्यालले आफुलाई बिजयी गराउन मतदान गर्ने र सहयोग गर्नेहरुलाई धन्यबाद दिँदै समृद्ध र नमुना मल्कबाङको लागि स्वदेश  तथा विदेशमा रहेका सबै मल्कबाङबासीहरुसंग सहयोग, सदभाव, सुझाबको अपेक्षा गर्दै सहकार्य गरि अगाडी बढ्ने बताउनुभयो ।