नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर ‘शिक्षक’
- ६ चैत्र २०७६, बिहीबार
- 2910 पटक पढिएको
म्याग्दी ७ चैत । शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र रहेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीमा दुई शिक्षकले बर्षौदेखि नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा सरकारी विद्यालयमा शिक्षण गराउँदै आएको खुलेको छ । धवलागिरि गाउँपालिका–६ मराङ स्थित राम्चे आधारभुत विद्यालयमा शिक्षण गराएका छोटेलाल ठाकुर र रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ स्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दुतकुमारी गर्वुजाको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि अहिले अख्तियार दुरुपयोग अनुसंधान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
दुबै शिक्षकले आफु नियुक्त हुँदा भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए । राम्चे आधारभुत विद्यालयमा २८ बर्षसम्म शिक्षण गरेका छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली भएको उनले शिक्षण पेशाबाट बाहिरीएको एक बर्ष पछि मात्रै खुलेको हो । झण्डै तीन दशक सम्म शिक्षण पेशामा संलग्न भएका ठाकुर शिक्षण पेशाबाट बाहिरएपछि मात्रै उनले जागिर गर्दा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलेको हो ।
रौतहट घर भएका ठाकुरले अस्थायी शिक्षकको रुपमा नियुक्त भएर विद्यालयको प्रअ समेत भएका थिए । गत बर्ष सरकारले अस्थायी शिक्षकहरुलाई दिएको विकल्पहरुमध्ये गोल्डेन हेण्डचेक बुझेर विदाई भएका ठाकुरलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार, ठाकुर २०४७ साल मंसिर १ गते यस विद्यालयमा नियुक्त भएका थिए ।
अस्थायी शिक्षकबाट विदाई हुने क्रममा उनले गोल्डेन हेण्डचेक बापत रु ८ लाख १६ हजार ५९५ रकम बुझेको कार्यालयले जनाएको छ । ठाकुरले शिक्षक नियुक्त हुँदा पेश गरेको मध्यमा परिक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । भारतस्थित मोतिउर्रहमान संस्कृत प्राथमिक सह–माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएर सरकारी सुविधा आर्जन गरेको आरोपमा विशेष अदालतमा सोमबार मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ठाकुर विरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरीएको छ । अहिले कालिका मावि तिप्ल्याङमा कार्यरत शिक्षक दुतकुमारी गर्वुजाको पनि शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र पेश गरेको आरोपमा मुद्धा दायर भएको छ । बेगको घाप्पामा रहेको शिव आधारभुत विद्यालयमा प्रअ समेत रहेकी गर्वुजा विद्यार्थी अभाबले सो विद्यालय बन्द भएसंगै कालिका माविमा कार्यरत रहेकी थिईन् । २०५६ सालमा निजी स्रोतबाट प्रा.वि. शिक्षकको रुपमा सेवा प्रवेश गरेकी गर्वुजा २०६१ साल भदौ २३ मा प्रा.वि. तह अस्थाई शिक्षक पदमा नियुक्त भएको र २०७५ चैत २९ आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी समेत भएकी थिइन् ।
जागिर गर्दा पेश गरको शैक्षिक प्रमाणपत्रमा देश बाहिर (भारतीय) बोर्डबाट जारी गरीएको शैक्षिक योग्यताको प्रमाणपत्र रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गर्वुजाले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरको पुष्टि हुन आएपछि भ्रष्टाचार निवारण ऐन अन्र्तगत कारबाहीको माग गरि मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले विशेष अदालतमा मुद्धा तयार गरेसंगै अख्यितारको पत्राचार बमोजिम फागुन १९ गतेकै मितिबाट गर्वुजालाई निलम्बन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।
लाग्दै छ यस्तै को कारण ले हो आज कोरोना आको पनि! ! !