युवाहरु टर्की र स्थानीय जातका लोक्कल कुखुरापालनमा आकर्षित
- ९ पुष २०७६, बुधबार
- सन्तोष गौतम
- धिरन खत्री
- 3546 पटक पढिएको
म्याग्दी, ९ पुस । जिल्लाका युवाहरु टर्की र स्थानीय जातका कुखुरापालनतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारको विकल्पमा व्यवसायिक पक्षिपालन गरेका युवाहरु गाउँमै स्वरोजगार र राम्रो आम्दानी गर्न सफल भएका छन् । म्याग्दीमा टर्की जातको नयाँ पंक्षिपालन भित्रिएको छ । युवा व्यवसायीहरुले देशका विभिन्न ठाउँबाट चल्ला ल्याएर म्याग्दीमा टर्की भित्र्याएका हुन् । मासु र अण्डाका लागि टर्की पालन गर्ने क्रम बढेको हो ।
उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरल, युरिक एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । एक वर्षमा ११ किलोग्राम सम्मको तौल हुने टर्कीको मासु प्रतिकिलो एक हजार र सात दिनको चल्ला पाँच सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । उन्नत र नश्ल सुधार गरिएका कुखुरापालन गर्ने क्रमसंगै लोप हुन लागेका स्थानीय जातका कुखुराको व्यवसायिक पालनबाट पनि कृषकहरुले मनग्य आम्दानी गर्न थालेका छन् ।
साकीनी, घाँटी खुइले, उल्टे, किस्टोन जातका कुखुराको मासु तथा अण्डा स्वादीलो, पोषिलो र गुणस्तरीय हुनुका साथै पोषण सुरक्षामा उपयोगी मानिएको छ । छ महिनाअघि तीन लाख लगानी गरेर ३० वटाबाट स्थानीय कुखुरापालन सुरु गरेका मंगला गाउँपालिका–५ सेराफाँटका नगेन्द्र सापकोटाले लगानी उठाइसकेका छन् ।टर्की र स्थानीय जातका कुखुरासंगै लौकात र बट्टाई जातका पंक्षिको पनि व्यवसायिक पाल्न थालेका छन् । कालीज जस्तै देखिने लौकात मासुका लागि प्रतिकिलो एक हजार ५०० रुपैयाँका दरले बिक्री हुन्छ ।
बट्टाइको मासु र अण्डा निमोनिया र दमका बिरामीले औषधिको रुपमा समेत उपभोग गर्छन् । जिल्लामै पहिलो पटक २०७३ मा टर्कीपालन सुरु गरेका बेनी नगरपालिका–१ हुलाकी डाँडाका इश्वर केसीले स्थानीय कुखुरा र टर्की घरबाटै बिक्री हुने गरेको बताए ।पछिल्लो समय माग बढ्न थालेपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय जातका कुखुराको ब्यवसायिक पाल्ने कृषकहरुलाई समूह मार्फत सहयोग गर्न थालेको छ ।
सन्तोष गौतम
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l