कलेजो र ५३ औं पटक रक्तदान गर्ने दाइ चन्द्र र भाइ सुरज केसी

‘म्याग्दीका दधिचि’

  • २२ माघ २०७५, मंगलवार
  • धु्रबसागर शर्मा
  • 3058 पटक पढिएको

धु्रबसागर शर्मा
म्याग्दी, २२ माघ । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने मानिसहरु भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसहरु मध्येका दुई भाइ हुन् म्याग्दीका चन्द्र र सुरज केसी
एउटै घरका साख्खै दुई भाइ ४४ वर्षिय चन्द्र केसी र ४२ वर्षिय सुरज केसीले अरुको जीवन बचाउनका लागि आफ्नै शरीरको अंग र रगत दिएर समाजमा धर्म र सेवा भनेको केहो ? भन्ने गतिलो उदाहरण बन्नुभएको छ ।

विभिन्न परोपकारी संघ संस्थामा आवद्ध चन्द्र केसीले केही दिन अघि एक ९ वर्षिया बालिकालाई बचाउनका लागि आफ्नो कलेजो समेत दान दिनुभएको छ । उहाँकै भाइ सुरज केसीले ५३ औं पटकसम्म रक्तदान गरेर सुत्केरी महिला र कैयौं घाइतेहरुको जीवन रक्षा गर्नुभएको छ ।

जन्मेको चार महिनादेखि थलिएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलकी सियाना रन्तिजाको बेनी,पोखरा हुँदै काठमाण्डौ पुराउँदा पनि रोग पत्ता नलागे पछि भारतको राजधानी दिल्ली लगियो । त्यहाँ पुगेपछि थाहा लाग्यो, रन्तिजाको कलेजोमा समस्या रहेछ । तामाको मुनाजस्ती छोरीलाई उपचार गरेर निको पार्न सियानाकी आमा रेश्मा रन्तिजा र बुबा प्रदीप रन्तिजाले निकै दौडधूप गर्नुभयो । कैयौलाई गुहार्नुभयो । देवीदेउता पुकार्नु भयो । अहँ छोरीलाई २० को १९ पनि भएन ।
औषधीले निको नभएपछि सियानाको उपचारमा खटिएका सर गंगाराम अस्पतालका चिकित्सकद्धय डा.निमेष र डा. विशालले ‘छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुपर्यो ।’ भने ।

मिल्ने भए आफ्नो मुटु पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजै म्याच भएन । आमा बुबाको कलेजो म्याच नभएको र शियानाको उपचारका लागि आर्थिक अभाव हुनुका साथै कलेजोदाता पनि चाहिएको खबर म्याग्दीमा फैलियो ।

आखिर चन्द्र केसी सियानाका लागि बाबुआमाजस्तै प्यारो बनेर झुल्किनुभयो । ती बालिकालाई कलेजोको टुक्रा काटेर दिन केसी राजी हुनुभयो । म्याग्दीमा असहाय र विपन्नलाई सहयोग पुर्याउँदै आएको संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले पहिलापहिला खल्तीको पैसा सहयोग गर्नुहुन्थ्यो । अरुसँग सहयोग जुटाएर गाउँ पुर्याउँनुहुन्थ्यो । कहिले मिर्गाैला रोगीको उपचार हुन्थ्यो, कहिले मुटु रोगीको । कहिले कलिला हातहरुमा कापी कलम थमाउनुहुन्थ्यो भने, कहिले थरथर कापिरहेको जिउमा न्यायो लुगा । यसपालिचाहिँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएर शियानालाई बचाउनु मात्र भएको छैन, समाजका लागि गतिलो उदाहरण समेत बन्नुभएको छ । केसीलाई अहिले‘म्याग्दीका दधिचि’ (अरुका लागि आफ्नो शरिरको अङ्ग समेत काटेर दिनसक्ने दानि व्यक्ति ) भन्न थालिएको छ ।

भारतको सर गंगाराम अस्पतालमा रञ्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरेपछि शियाना रन्तिजाको जीवन रक्षा भएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो ‘ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राख्नु भएको छ,।’ शाक्यले भन्नुभयो ‘कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय थियो, आज झन् महान् पुण्य गर्नुभयो ।’ केसीको करिब ३० प्रतिशत कलेजो निकालेर पत्यारोपण गरिएको शाक्यले बताउनुभयो । अहिले बिरामी सायना र दानवीर केसी दुवै अस्पतालमा हुनुहुन्छ ।

‘प्रत्यारोपण गरिएपछि बिरामी र कलेजोदान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ,’ शाक्यले भन्नुभयोे । सायनाको जीवन रक्षाका लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा ३० लाख रुपैयाँ संकलन भएको थियो । कलेजो प्रत्यारोपणअघि उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको थियो । अहिले प्रत्यारोपणका लागिमात्रै १७ लाख भारुभन्दा बढी आवश्यक भएकाले थप सहयोगका लागि कोषले आह्वान गरेको छ ।

त्यसैगरी केसीका भाइ सुरज केसीले पनि ५३ औं पटक रक्तदान गरेर कैयौंको जीवन बचाउनुभएको छ । २०५४ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने केसीले अहिलेसम्म ५३ औं पटक रक्तदान गरेर अरुलाई नयाँ जीवन दिनुभएको छ ।

केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका,क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने महिला, गाडी दुर्घटना भएका लगाएत दर्जनौं व्यक्तिहरुलाई आफ्नो रगत दिएर बचाउनुभएको छ ।
सामान्यतयाः रक्तदान गरेको तीनमहिना पछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकहरुको परामर्स रहने गर्छ । तर अरुको दुःख देख्नै नसक्ने केसीले आवश्यक परेको खण्डमा जतिबेला पनि आफ्नो रगत दिने गर्नुभएको छ ।केसीको रगत ए प्लस समूहको हो ।

केसी दाजुभाइलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उहाँहरुलाई नजिकबाट चिन्नेहरुले बताउने गर्छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य एवम् म्याग्दीका युवा समाजसेवी प्रकाश पौडेलले केसीदाजुभाइलाई अरुको दुःख देख्दै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रुपमा चिन्ने गरेको बताउनुभयो ।

केसी पत्रकार महासंघ म्याग्दीको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका संचालक समेत रहनुभएका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा समेत सम्वद्ध हुनुहुन्छ ।

धु्रबसागर शर्मा