धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण

  • १० श्रावण २०८२, शुक्रबार
  • कमल खत्री
  • 1 पटक पढिएको

म्याग्दी ,९ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण भएको छ । आर्थिक बर्ष २०८१/०८२ मा संघीय सरकारबाट प्राप्त भएको रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदी स्थित इटाली आधार शिविर देखि स्विस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।

विनियोजन भएको बजेटबाट रु ४९ लाख तथा समुदायको रु ५ लाख बराबरको श्रमदानबाट करिब साढे ६ किलोमिटर पदमार्ग निर्माण भएको धौलागिरी हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिब कुलबहादुर घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार, पदमार्ग अन्तर्गत सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ । पदमार्ग संगै दुई वटा काठे पुल र दुई वटा चौतारा समेत निर्माण गरिएको छ ।

पदमार्गमा भ्रमणमा आउने पर्यटकहरुको सहजताको लागि चार ठाउँमा सूचना बोर्ड र पाँच ठाउँमा संकेत बोर्ड समेत राखिएको सचिब घर्तिले जानकारी दिनुभयो । हिमाल आरोहण, धवलागिरी हिमालको फन्को मार्न र आधार शिविर सम्मको पदयात्रामा जाने पर्यटकहरुको सुविधाको लागि पदमार्ग, पुल लगायतका पूर्वाधार निर्माणले सहजता मिलेको छ । पदमार्ग निर्माण योजना अन्तर्गत करिब १ किलोमिटर बढी ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएको गाउँपालिकाका सव इन्जिनियर जनक धानुकले जानकारी दिनुभयो ।

‘‘अप्ठेरो र साँघुरो ठाउँमा घोरेटो बाटोलाई फराकिलो बनाईएको छ, स्विसदेखि जापनिज क्याम्प क्षेत्रमा ग्लेसियरको कारण कठिन मानिएको ठाउँमा समेत पदमार्ग बनाईएको छ,पुरानो जिर्ण पदमार्गलाई सुधार गरेपछि पर्यटक आवत जावत गर्न सहज हुने भएको छ’’– उहाँले भन्नुभयो । धौलागिरी पदमार्ग अन्तर्गत दोभानमा बाढीले भत्किएको पदमार्ग समेत पुननिर्माण गरिएको छ भने चौरवनको फेदीमा समेत पदमार्ग निर्माण गरिएको छ । यस पदमार्ग अन्तर्गत इटाली आधार शिविरदेखि छेउवन जोड्ने म्याग्दी खोला, तलेत्रेखोला, कैँचीभिरे खोला लगायत आधा दर्जन बढी ठाउँमा झोलुङ्गे पुलको अभाब रहेको छ ।

विश्वभर चर्चित मानिएको धौलागिरी पदमार्ग अन्तर्गत भिर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर सुरक्षित बनाउने र सिँढी चिनेर स्तरीय पदमार्ग बनाउने अभियानलाई प्राथमिकता दिईएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । उहाँले गउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसारलाई जोड दिएको बताउँदै यस बर्ष एक वडा एक पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले अभियान चलाउने जानकारी दिनुभयो ।

धौलागिरी हिमालको आधार शिविर जाने र हिमाल आरोहण संगै धौलागिरी हिमालको फन्को मार्नका लागि पदयात्रामा जाने पर्यटकहरुले धौलागिरी हिमाल आरोहण पदमार्गको प्रयोग गर्दै आएका छन् । मनोरम हिमसृङ्खला संगै अग्ला झरना, लालीगुराँस, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदी र हिउँ जमेको ग्लेसियरको दृष्य यस पदमार्गको मुख्य आकर्षण रहेका छन् ।        

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l