मुस्ताङबाट पन्ध्र हजार भेडाच्याङग्रा निकासी
- २२ आश्विन २०७५, सोमबार
- सन्तोष गौतम
- 3560 पटक पढिएको
बेनी २२ असोज । दसँैका लागि हिमाली जिल्ला मुस्ताङबाट देशका विभिन्न जिल्लामा भेडाच्याङग्रा निकासी सुरु भएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको हो । भेडाच्याङग्रा खरिद गर्नका लागि देशका विभिन्न ठाउँका ब्यापारीहरु जोमसोम पुगेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोम स्थित सेवा केन्द्रले हालसम्म १५ हजार भेडाच्याङग्रा निकासी भइसकेको जनाएको छ । आइतबारसम्म १० हजार भेडा र पाँच हजार च्याङग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरिसकिएको केन्द्रका पशु चिकित्सक शिव भुषालले जानकारी दिनुभयो ।
मुस्ताङबाट हिडाएर ल्याइएका भेडाच्याङग्राको लस्करले दसँै नजिकिएको संकेत गरेको छ । असोज १६ गतेदेखि जोमसोमबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको थियो । दसँैका लागि करिब बीस हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको चिकित्सक भुषालले बताउनुभयो । खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा राजधानी लैजाने भएको छ । ५५० वटा च्याङग्रा मुस्ताङबाट पठाईसकेको संस्थानको जोमसोम स्थित कार्यालयका प्रमुख गंगाप्रसाद शाहले बताउनुयभो । सोमबार थप ४५० च्याङग्रा खदिर गरेर पठाउन लागिएको शाहले बताउनुयभो । मुस्ताङमा एउटा जिउँदो च्याङग्रा १७ देखि २२ हजार र भेडा (च्यालु) १४ देखि १७ हजार रुपैयाँ प्रतिगोटाका दरले खरिद बिक्री भएको सिन्धुपाल्चोकका ब्यापारी पशुपती सिलवालले बताउनुभयो । प्रतिकिलो ५३० रुपैयाका दरले च्याङग्रा खरिद गरेको संस्थानले काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलोका ६५० रुपैया दरले बिक्री गर्ने जनाएको छ ।
भुकम्पका कारण बन्द भएको सिन्धुपाल्चोकको नाका सञ्चालनमा ढिलाई भएकाले मुस्ताङको भेडा च्याङग्राको माग बढेको छ । मुस्ताङको तेताङबाट तीन सय भेडाच्याङग्रा खरिद गरेर बेनी ल्याइपु¥याएका सिन्धुपाल्चोकका ब्यापारी मेखबहादुर नेपालले गत वर्षको तुलनामा खरिद मूल्यमा प्रतिगोटा एक हजार पाँच सय रुपैँया देखि दुई हजार रुपैँया बढी परेको बताउनुभयो । स्थानीय तहै पिच्छे पशु चौपाया कर तिर्नुपर्दा मर्कामा परेको भेडाच्याङग्रा ब्यापारीहरुले गुनासो गरेका छन् । ठाउँ ठाउँमा कर उठाउँदा दोहोरो मर्काका साथै झञ्जट भएको ब्यापारी नेपालले गुनासो गर्नुभयो ।
निकासी भएका मध्य ९० प्रतिशत भेडाच्याङग्रा मुस्ताङका कृषकले पालेको र बाँकी दश प्रतिशत डोल्पा, जुम्ला, मुग र केही मात्रामा तिब्बतबाट आयात गरिएका पशु चिकित्सक बिष्णु केसीले बताउनुभयो । भेडाच्याङग्रा बिक्री गरेर मुस्ताङमा यसपाली तीस करोड रुपैयाँ भन्दा बढी नगद भित्र्ने भएको छ । स्वास्थ्य परीक्षण गरि स्वस्थ्य भेडाच्याङग्रा मात्र निकासी गर्न दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवन आचार्यले बताउनुभयो । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक रुपमा भेडाच्याङग्रा पालन गर्दै आएका छन् ।
जोमसोम देखि हिडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा बेनीदेखि ट्रक मार्फत ढुवानी गरेर देशका विभिन्न ठाउँमा पु¥याइन्छ । हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्किएका र जडिवुटीयुक्त चरन क्षेत्रको घाँस खाएका भेडाच्याङग्राको मासु स्वादिलो तथा तागतिलो मानिन्छ । दसँै तिहारको समयमा अन्य जातका खसी बोकाको तुलनामा महँगो पर्ने भएपनी भेडाच्याङग्राको मासुको माग बढी हुने गर्छ ।