राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको शालिक बनाइने
- ३० श्रावण २०८२, बिहीबार
- 1 पटक पढिएको
नेपालको राष्ट्रिय महिला भलिबलमा अतुलनीय योगदान पु¥याउँदै आएकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको शालिक बनाइने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो। नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु–याउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी शाहीको योगदानको कदर गर्दै उहाँको गृह जिल्लामा शालिक बनाउने घोषणा गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्लेमा जन्मनुभएकी शाही विद्यालय तह ,जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय खेलाडीको रुपमा परिचित हुनुभएको थियो । सन् २०१३ मा काठमाण्डौमा भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गरे यता अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ ।
म्याग्दीको मोटोपानीबाट सुरु भएको उहाँको भलिबल यात्रा पश्चिमाञ्चल हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता सम्म पुगेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठका अनुसार अरुणाको शालिक स्थापनाको लागि आवश्यक योजना तयार भइसकेको छ। आगामी दिनमा थप विवरण सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । यस अभियानमा सहयोग गर्न सम्पूर्ण संघसंस्था, खेलप्रेमी, म्याग्दीवासी र प्रवासीहरूसमक्ष समितिले हार्दिक अपिलसमेत गरेको छ।