वाखेतमा परम्परागत हरेलो पर्वको रौनकता
- ४ भाद्र २०८२, बुधबार
- 1 पटक पढिएको
म्याग्दी, ४ भदौ । म्याग्दीको बेनी नगरपालिका–१० वाखेत गाउँमा परम्परागत हरलो पर्वको रौनकता छाएको छ । भूमी र प्रकृती पुजाको रुपमा हरेक बर्षको भदौ महिनाको पहिलो मंगलवारका दिन यस क्षेत्रमा हरेलो पूजा गर्ने चलन रहेको छ । धान, कोदो, भटमास लगायतका बर्खे खेती बालीको उत्पादन राम्रो हुने र बाढी, पहिरो जस्ता विपद्का घटना नहोस भन्ने कामना सहित खेतवारीमा हरेलो पूजा गरेपछि यहाँ परम्परागत साँस्कृतिक झाँकी प्रदर्शन सहित हरेलो पर्व मनाउने चलन रहेको स्थानीय लोकबहादुर पुनले बताउनुभयो ।
बेनी नगरपालिका–१० का पूर्व कार्यबहाक वडा अध्यक्ष समेत रहनुभएका पुनले वाखेतमा परम्परागत हरेलो पर्वको मौलिकता जोगाउन युवाहरु सक्रिय बनेको बताउनुभयो । ‘‘हरेलोमा साँस्कृतिक झाँकी देखाउने यहाँको पुरानो चलन हो, युवा क्लबको नेतृत्वमा हरेक बर्ष हरेलो मेला आयोजना हुने भएकाले यो पर्वको साँस्कृतिक महिमालाई जोगाउन र नयाँ पुस्तामा संस्कृती हस्तान्तरण गर्न सघाउ पुगेको छ’’–पुनले भन्नुभयो ।
हरेलो पर्वको अवसरमा स्थानीय घारसुन्ना लालीगुराँस युवा क्लबको आयोजनामा मंगलवारदेखि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहितको परम्परागत मेला सुरु गरिएको छ । पहिलो दिन हरेलो मेलाको साँस्कृतिक चिनारीको रुपमा रहेका परम्परागत लाखे नाच, नाग नागीनी नाच, राधाकृष्ण नाच, सोरठी, पुख्र्यौली लगायतका धार्मिक, साँस्कृतिक प्रस्तुती गरिएको अगुवा युवा स्यानु पाईजाले जानकारी दिनुभयो । हरेलो मेलाको साँस्कृतिक उत्सवमा रमाउन छिमेकी गाउँठाउँबाट समेत पाहुनाहरुको भिड लागेको थियो ।
वाखेतको हरेलो मेला जिल्लामा परम्परागत रुपमा लाग्ने मेलाजात्राहरुमध्येमा पर्छ । मगर समुदायको बाहुल्य बसोबास रहेको वाखेत गाउँमा हरेलो पर्व मेलामा आउने पाहुनाहरुलाई स्वागत गर्न स्थानीयले बाटोघाटो सरसफाई गरेर गाउँलाई चिटिक्क बनाएका छन् । म्याग्दीमा आ–आफ्नो परम्परा अनुसार हरेलो पर्व मनाउने प्रचलन छ । ठाउँ र परिवेश अनुसार, साउन महिनाको पहिलो मंगलवार, अन्तिम मंगलवार र भदौ महिनाको पहिलो मंगलवार हरेलो मनाउने चलन छ । हरेलोमा खेतवारीमा भुष, भुषपात, धुपधजा र पिठोको चरामुसा बनाएर प्रकृतिलाई चढाउने प्रचलन छ ।
t:aL/
तस्बीर ः स्यानु पाइजा