मुस्ताङको कोबाङमा बाह् वर्षे मेलाको रौनकता सुरु

  • १४ पुष २०७३, बिहीबार
  • 953 पटक पढिएको

नेपालका थकाली समुदायले प्रत्येक बाह् वर्षमा मनाउने (ल्हफेव) पर्वको रौनकता सुरु भएको छ । थकाली समुदायको उद्गम थलो हिमाली जिल्ला मुस्ताङको कोवाङमा विभिध धार्मिक एवम साँस्कृतिक कार्यक्रम गरि मनाईने यस पर्वको यहि पुस १५ गतेदेखि औपचारीक उद्घाटन गरिनेछ । उक्त अबसरमा मुस्ताङका साँसद एवम् वर्तमान सरकारका वाणिज्य मन्त्री रोमी गौचन थकालीबाट उक्त पर्वको उद्घाटन गरिने आयोजकले जनाएको छ । नेपालमा हाल १४ हजारको संख्यामा बसोबास गर्ने थकाली समुदायले प्रत्येक बाह् वर्षमा एक पटक यो पर्व मनाउँछन् ।  थाक सात सय १३ मुखिया, थसेस थासाङ क्षेत्र क्षेत्रीय समितिको आयोजना  र थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको सह–आयोजनामा पुष १५ गते उद्घाटन हुने पर्व करिब आधा महिनासम्म परम्परा अनुसार विभिन्न कार्यक्रम गरेर माघ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

img_6878

सो अवसरमा कवि भुपि शेरचनको स्मृतीमा कविता, थकाली युवतीहरुबीच सुन्दरी, खुल्ला म्याराथन दौड, अन्तरचन ताराखेल प्रतियोगिताको साथै थसेस अन्तर क्षेत्रीय सांस्कृतीक कार्यक्रम, थाक सातसयको विकासमा सम्भावना र थकाली युवाहरुको भुमिका विषयमा छलफल, स्वास्थ्य शिवीर, थकाली संस्कार, संस्कृतीको विषयमा अन्तरक्रिया गरेर पर्व मनाइने मुल आयोजक समितिका मञ्च व्यवस्थापन उपसमितिका संयोजक एवम थकाली सेवा समाज बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए । थकाली समुदायका मुख्य देवतालाई बाह् वर्षे मेलाको अवसरमा मात्र पुजाआजा गर्ने चलन भएकाले यसको विशेष महत्व रहेको छ ।

उक्त मेलालाई सफल बनाउन आर्थिक संकलन, प्रचारप्रसार, व्यवस्थापन लगायतका तयारी अन्तिम चरणमा पुगेको थकाली सेवा समाज नेपालका अध्यक्ष कृष्णकुमारी शेरचनले बताइन् । हाल नेपालको १९ वटा क्षेत्रमा थकाली समुदायको बसोबास छ । थकाली समुदायको बिशेष गरि ब्यापारीक क्षेत्रमा बढी संलग्नता रहेको छ । पर्वको रौनकता बढेसंगै मुस्ताङको लार्जुङक्षेत्र वरपरका स्थानीयवासीले होटल तथा घरलाई रङ्ग रोगन लगाई सिंगारेका छन् ।
टाढा टाढाबाट आएका आफन्त र आमन्त्रित पाहुनाका लागि आवास र खानपानको चाँजोपाजो मिलाई रहेका छन् । उनीहरुले मेला र देवता निकालिने स्थान वरपर सरसफाई गरि वातावरण चुस्त राख्ने कार्यमा जुट्दै छन् । थकालीहरुको निकै महत्व राख्ने यो पर्वलाई मध्यनजर गर्दे मुस्ताङ जीप तथा बस व्यवसाय समिति र श्री मुक्तिनाथ दर्शन यातायात प्रा.लि.ले मुस्ताङ भित्रिने यात्रुहरुको शहजता लागि भाडादर तथा सेवामा थप बिस्तार गरेका छन् ।उनीहरुले स्वदेश तथा बिदेशबाट जन्मथलो आउँने थकालीहरुका लागि दैनिक १६ घण्टा अटुट सेवा प्रवाह गर्ने जनाएका छन । जिल्लाका स्थानीय थकाली (चारचन) र बिभिन्न कारणले जिल्ला छाडेर बाहिर रहेका थकाली (चारचनं)समुदायहरुको संगिन भेटका लागि यसपटक उनीहरु (ल्हफेव)को व्यग्र प्रतिक्षामा छन् । सदियौंकाल देखि जन्मथलो छाडेर बिभिन्न पेशा र व्यवसायको शिलशिलामा बिछोडिएका थकाली समुदायलाई जोड्ने पुल बन्दैछ (ल्ह्फेव) अर्थात देवता निकाल्ने पर्वलाई लिने गर्छन उनीहरु ।