स्थानीय सरकारले वेवास्ता गर्दा ‘भ्यूटावर’ वरिपरि भरियो रुखविरुवा

  • १२ कार्तिक २०८०, आईतवार
  • 329 पटक पढिएको

 

म्याग्दी, १२ कात्तिक । धौलागिरी आईसफल पदमार्ग अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढारमा निर्माण गरिएको ‘भ्यूटावर’ संरक्षणमा बेवास्ता गर्दा वरिपरि झाँडी भरिएको छ। भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यहाँको महत्व विस्तारै ओझेल पर्ने खतरा बढेको हो ।

पछिल्लो समय रुईसे–भेडिओढार क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । दँशै लगायत चाडपर्वको समयमा गाउँ फर्किएका शहर र विदेशका बासिन्दा पारिवारिक घुमघाममा यस क्षेत्रमा पुग्ने गर्छन गर्छन् । पारिवारसहित भ्यूटावर घुम्न पुग्नुभएकी रघुगंगा गाउँपालिका– ३ कलेजबाङकी सुनिता भण्डारीले भ्यूटावर भन्दा रुख विरुवा अग्लो हुन लागेकोे बताउनुभयो । उहाँले राज्यले लगानी गरेर बनाएका भ्यूटावर लगायतका सम्पति संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । “तीनतलाको भ्यूटावर वरिपरि दुईतलालाई ढाक्ने गरि रुखविरुवा हुर्किएका छन् । वरिपरिका ठुला रुखविरुवा नहटाउँदा टाढाँबाट भ्यूटावरपनि देखिदैन”, उहाँले भन्नुभयो ।

चाडपर्वमा घुम्न गएका पर्यटकले भ्यूटावर पुग्ने पदमार्ग र सडक राम्रो भएपनि वरीपरि सरसफाई र ठुला रुख विरुवा फडानीमा बेवास्ता गर्दा त्यहाँको मौलिक सौन्द्रयतालाई ओझेलमा पारेको छ । यसलाई फडानी गर्न स्थानीय, वडा र गाउँपालिकाले ध्यान दिनुपर्छ ।
थापकोटमा निर्माण गरिएको भ्यूटावरलाई तारबार गरेर संरक्षण गरिएको छ । भ्यूटावरमा पुग्नका लागि पदमार्ग बनाएपनि खानेपानी, शौचाललाई पूर्णता दिएको छैन् । भ्यूटावर नजिकै बनाएको तालिमहल भवनपनि प्रयोग विहिन छ । यसरी पर्यटकियस्थलमा राज्यले करोड खर्चेर बनाएका संरचना आम्दानीविहिन बनेका छन् ।

समन्द्री सतहदेखि २२२० मिटर उचाईमा रहेको रुईसे २६०० मिटर उचाईमा रहेको भेडिओढारमा घुम्न आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँबाट उदाएको सुर्य, धौलागिरी, अन्नपुर्ण, नीलगिरि, चुरेन र गुर्जा लगायतका दर्जनौ मुस्कुराइरहेको हिमाल र बाईसेचौविसे राजाको पुरातात्विक सम्पदा अवलोकन गर्न पाईन्छ । “रुईसेमा पुग्ने पर्यटकले पुराना पाटीपौवा, ढकमक्क फुलेको लालीगुरास, राजाको सिरानी, ग्रामिण कलासस्कृति र कलात्मक पुराना ग्रामिण घरहरु अध्ययन गर्न सक्छन्। रुईसे– भेडिओढारबाट ग्रामिणबस्तीसंगै पुनहिल, करबाकेली, पञ्चकोट, गलेश्वरधाम, बेनीबजार लगायतको पर्यटकस्थल देखिन्छ ।”