प्रधानमन्त्री बालेन शाहलाई भारतको विमानस्थलमा राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

  • ६ मंसिर २०८३, शनिबार
  • 11 पटक पढिएको

 

प्रधानमन्त्री बालेन्द्र शाहको आइतबार हुने भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार भ्रमणसम्बन्धी सबै व्यवस्था मिलाइसकिएको छ। आइतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ। सामान्यतया भारत भ्रमणमा आउने अन्य देशका प्रधानमन्त्रीहरूलाई विमानस्थलमा राज्यमन्त्रीहरूले नै स्वागत गर्ने परम्परा रहँदै आएको छ।

नेपालमा २०६२÷०६३ को जनआन्दोलन सम्पन्न भएपछि भारतको राजकीय भ्रमणमा पुगेका नेपालका दुई जना प्रधानमन्त्रीलाई मात्र राज्यमन्त्रीभन्दा माथिल्लो तहका नेताले विमानस्थलमा पुगेर स्वागत गरेका छन्। जनआन्दोलनपछि कार्यवाहक राष्ट्रप्रमुखसमेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैँ विमानस्थल पुगेका थिए। त्यस्तै, संविधानसभामार्फत नयाँ संविधान जारी भएपछि भएको २०७४ सालको निर्वाचनपश्चात् प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई स्वागत गर्न तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज विमानस्थल पुगेकी थिइन्। यी दुईबाहेक अन्य सबै भ्रमणमा राज्यमन्त्री तहबाटै स्वागत हुँदै आएको छ।
दूतावासका प्रवक्ता जोशीका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रवक्ता जोशीले भने, ‘प्रधानमन्त्रीज्यू नेपाल एयरलाइन्सको उडानमार्फत अपराह्न ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ। विमानस्थलमा उहाँलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुने कार्यक्रम रहेको छ।’

विमानस्थलबाट प्रधानमन्त्री सिधै नयाँ दिल्लीस्थित होटल ताज मानसिंह (ताज महल) जानेछन्। साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा। एस। जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डाहरू फहराइएका छन्।आइतबार साँझ नै नेपाल र भारतका व्यवसायीहरूको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाल तथा भारतका उद्योगी(व्यवसायीहरूबीच व्यावसायिक सहकार्य र सहयोग आदानप्रदान हुनेछ।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा केही नयाँ परियोजनाहरूको उद्घाटन, केहीको शिलान्यास तथा विभिन्न समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार एक दर्जनभन्दा बढी परियोजनाको शिलान्यास तथा उद्घाटन हुनेछ। भ्रमणमा दुई देशबिचको आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई मुख्य प्राथमिकतामा राखिएको छ।

द्विपक्षीय वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका एक अधिकारीले भने, ‘आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफलको तयारी छ। अझै सबै विषय टुङ्गिएका छैनन्, भोलि बिहानसम्म सबै विषय टुङ्ग्याउने गरी काम गरिरहेका छौँ।’

भ्रमणका क्रममा भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सहमति जुटाउने तयारी छ। परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी ९आईसीपी० को उद्घाटन गर्ने गरी गरिएको तयारी अन्तिम चरणमा पुगेको छ।’

प्रधानमन्त्री शाहले भ्रमणमा आर्थिक पक्षलाई विशेष जोड दिनेछन्। त्यसमध्ये पनि हवाई सम्पर्क विस्तारलाई नेपालले सर्वाधिक महत्त्व दिएको छ। अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन नेपालले भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ। यद्यपि, यसबारे अन्तिम टुंगो लागिसकेको छैन। विगतमा भारतले सुरक्षा संवेदनशीलता देखाउँदै थप हवाईमार्ग दिन आनाकानी गरे पनि यस पटक कम्तीमा एउटा रुट दिने आश्वासन प्राप्त भएको अधिकारीहरूको भनाइ छ।

भारत महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावमा बढी सकारात्मक देखिएको छ। त्यसबारे प्राविधिक पक्षमा छलफल जारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताए। महेन्द्रनगरको हवाईमार्ग प्रयोग गर्दा विमान भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने हुन्छ। त्यसैले भैरहवाको प्रस्तावित मार्ग कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले सामान्य उडान तथा अवतरणका लागि बढी उपयुक्त हुने तर्क गर्दै नेपालले भैरहवा मार्गमै सहमतिका लागि आग्रह गरिरहेको छ।

पश्चिम बंगालस्थित बागडोगराका लागि भारतले नेपाली हवाई क्षेत्रको केही भाग प्रयोग गर्ने भएकाले त्यसमा भारत सकारात्मक रहेको बताइएको छ। महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत लचिलो देखिए पनि सम्झौतामा हस्ताक्षर हुने विषय पूर्ण रूपमा निश्चित भइसकेको छैन।

यसैगरी, भ्रमणका क्रममा अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास हुने तय भएको छ। सूचना प्रविधि, बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ।उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने तालिका छ।