म्याग्दीमा नेकपाको जागरण अभियान शुरु

  • १६ कार्तिक २०८३, आईतवार
  • 1 पटक पढिएको

बेनी, १५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले दुई महिने जागरण अभियान शुरु गरेको छ । बेनीको महारानीथान स्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरेले जेनजी (नवयुवा)हरुबाट पार्टी सदस्यताको आवेदन फारम ग्रहण गरेर अभियान शुभारम्भ गर्नुभयो । समसामयिक राजनीतिक घटनाक्रमका सन्दर्भमा नागरिक तहमा पार्टीको धारण पु¥याउने, जनताका समस्या, अपेक्षा, गुनासा सुन्ने, सदस्यता नविकरण र विस्तार, संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि अभियान सञ्चालन गरिएको नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।   “नेकपाको राजनीतिक मुद्दामा देशमा राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता, समावेशी सहित नागरिकका मौलिक हकअधिकारको सुनिश्चित गर्ने संविधान बनेका कारण अहिले नेपालीले स्वतन्त्र रुपमा आफ्ना अभिव्यक्ति दिन पाएका छन,” उहाँले भन्नुभयो “हाम्रा कमजोरीको समिक्षा गर्दै शुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दालाई सफल बनाउन जनमत सिर्जनाका लागि दुई महिने अभियान सञ्चालन गरिएको हो ।” म्याग्दीको दुई वटा प्रदेशसभा र छ वटै स्थानीय तहमा नेताहरुको जिम्मेवारी विभाजन र कार्ययोजना बनाएर अभियानलाई ब्यवस्थित रुपमा सञ्चालन गरिने नेकपाका जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । विपद् प्रभावित म्याग्दीमा राहत र पुनःनिर्माण कार्यमा अभियान जोडिने संयोजक केसीले बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले अल्गोरिदमले सिर्जना गरेको भ्रमलाई हटाउन तथ्यगत प्रतिवाद र व्यवहारिक बन्नुपर्ने बताउनुभयो । “अब जनप्रतिनिधी हुनका लागि पार्टी र नेताले होइन्, मतदाताले पत्याउनुपर्छ भन्ने बुझेर स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्छ,” उहाँले भन्नुभयो “गरेका काम र उपलब्धीको प्रचारका साथै सिर्जना गरिएका भ्रमको ब्यवहारिक खण्डन गरि नागरिकलाई स्पष्ट पार्नुपर्छ ।” जुग्जाली र पौडेलले हरेक विषयमा बिना आधार र प्रमाण भ्रष्ट्राचारको आरोप लगाउनेहरुलाई इंगित गर्दै २०६४ पछिका म्याग्दीका सबै जनप्रतिनिधीको स्वतन्त्र छानवीन गर्न प्रस्ताव गर्दै त्यसलाई सघाउन आफूहरु तयार रहेको पनि स्पष्ट पार्नुभयो । अर्का केन्द्रिय सदस्य टेकबहादुर बिकले शुसासनको मुद्दा अघि सारेको वर्तमान सरकारले नागरिकलाई ब्यवहारिक रुपमा शुसासनको अनुभव गराउन नसकेको, बजारमा महँगी बढेको, लगानीकर्ता हतोत्साही भएका, राज्यसंयन्त्र आतंकित भएका टिप्पणी गर्नुभयो । सामाजिक सञ्जालको मात्र भर नपरी ब्यवहारिक र तुलनात्मक रुपमा कसले कति काम गरेको छ भनेर नागरिकलाई बुझाउन केन्द्रित हुनुपर्ने बताउनुभयो ।