जसले दुई वर्षको ठेक्का एकै वर्षमा भ्याए

  • ६ पुष २०८०, शुक्रबार
  • धिरन खत्री
  • 511 पटक पढिएको

 

म्याग्दी, ६ पुस । देशभर थुप्रै आयोजना समयमा नसकिएर अलपत्र परिरहेका बेला म्याग्दीमा भने उल्टो भएको छ । दुई वर्ष ठेक्का अवधि भएको सडक आयोजना एक वर्षमै सकिएको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्ड कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि नै सम्पन्न भएको छ ।

तोकिएको समयभन्दा एक वर्षअघि नै काम सकेर प्रशंसा पाउने निर्माण व्यवसायी हुन् सुवासचन्द्र कार्की । कालीगण्डकी नदीको कटान, सडक माथिबाट आउने पहिरो र बाढीको क्षतिले छियाछिया बनेको सडकमा सवारीसाधन चलाउन सास्ती थियो । यो सडक स्तरोन्नतिका लागि दुई वर्षमा काम सक्ने लक्ष्यसहित २०७९ पुस १७ गते आयोजना र निर्माण कम्पनी मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो ।

२०८१ पुस मसान्तमा काम सक्ने गरी कम्पनीले २ किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्न भ्याटसहित १२ करोड ७५ लाखमा ठेक्का लिएको थियो । कम्पनी सञ्चालक कार्कीले गत वर्ष माघ ६ गतेबाट काम सुरु गरेको स्तरोन्नतिको काम ५ महिनामा ८० प्रतिशत सकिसकेका थिए । राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत बेनी–गलेश्वर खण्डमा दशैं–तिहार लगत्तै बेस र कालोपत्रेको काम सुरु गरेका निर्माण व्यवसायी कार्कीले मंसिर मसान्तमा कालोपत्रको काम सम्पन्न गरे ।

बेनी–जोमसोम कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले करिडोर अन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबैभन्दा छिटो र छोटो समयमा डिबिएसडी किसिमको कालोपत्रे सकिएको खण्ड बेनी–गलेश्वर रहेको बताए । ११ महिनाको अवधिमा सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भर्ट, सडक फराकिलो बनाउने काम, सबबेस र २ सय मिटर आरसिसी ढलानसहित सकेर एक किलोमिटर ९ सय मिटर सडकको कालोपत्र पनि सकिएको निर्माण कम्पनीले जानकारी दिएको छ । स–साना बाहेक ठूलो काम पूर्ण रुपमा सकिएको इन्जिनियर पन्तले बताए ।

हिमालपारिको जिल्ला मुस्ताङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा बेनी नगरपालिका–९ गलेश्वरमा याक होटल सञ्चालन गरेका बाबुराम आचार्यले म्याग्दीमा यति छिटो अहिलेसम्म कुनै निर्माण व्यवसायीले काम नसकेको बताउँदै समयअगावै काम सक्ने नमुना निर्माण व्यवसायी कार्कीलाई राज्यले सम्मान गर्नुपर्ने बताए । ‘कतै सञ्चालित योजनामा बजेट छ तर निर्माण कम्पनीले समयम काम गर्दैन । यता निर्माण कम्पनीले समयमै काम सक्छ, राज्यले समयमा भुक्तानी दिँदैन,’ आचार्यले भने, ‘यसतर्फ राज्य गम्भिर भएर यही देशमा कार्कीजस्ता ठेकेदारलाई काम गर्ने वातावरण बनाउनुपर्छ ।’

निर्माण व्यवसायी कार्कीले गण्डकी प्रदेशमा समय अगावै तीन वटा योजना सम्पन्न गरेका छन् । उनले संघीय सरकारको बेनी–गलेश्वर खण्डसँगै तनहुँमा गण्डकी प्रदेशले ठेक्का लगाएका दुई योजना ६ महिनाअघि नै सम्पन्न गरेका हुन् । तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित तीन किलोमिटर ‘लोचाडाँडा कृषि पर्यटन सडक’ स्तरोन्नतिको काम ८ महिनामै सकिएको पूर्वाधार विकास कार्यालय तनहुँका सबइन्जिनियर होमनाथ गौतमले जानकारी दिए । तनँहुमा दुई योजना कार्कीले यस वर्षको फागुन मसान्तमा सक्ने गरी ठेक्का लिएकोमा कात्तिकमै सकेका हुन् ।

नुवाकोटको तादी गाउँपालिका–४ टोका स्थायी ठेगाना भएका कार्कीले काठमाडौंको टोखाबाट कम्पनी सञ्चालन गरेका छन्। ठेक्का सम्झौता लगत्तै योजनास्थलमा उपकरण र मजदुर परिचालन गरेर समयअगावै काम सम्पन्न गरेको उनले बताए । ‘काम गर्ने इच्छाशक्ति, स्थानीय जनप्रतिनिधि, इन्जिनियर, स्थानीयबासी, राजनीतिक दल, प्रशासन लगायत सबैको सहयोगले सबै ठाउँको काम समयअगावै सम्पन्न गरेको छु । काम सम्पन्न भइसकेपछि कार्यालयले समयमै भुक्तानी नदिँदा भने समस्या हुने रहेछ । यसतर्फ राज्य र कर्मचारी जिम्मेवार बनेर काम सम्पन्न हुनेबित्तिकै भुक्तानी दिए निर्माण व्यवसायीलाई काम गर्न सहज हुन्छ,’ उनले भने ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l