जेसीजकप फुटवलको लोगो र टाईटल प्रायोजक सार्वजनिक

  • ४ मंसिर २०८०, सोमबार
  • धिरन खत्री
  • 227 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक सार्वजनिक गरिएको हो ।

यस बर्ष हुने प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिताको रुपमा संचालन गरिने जानकारी दिनुभयो ।

प्रतियोगितालाई सफल बनाउन कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीको मूल संयोजकमा १७ वटा उपसमिति गठन गरेर तयारी अगाडी बढाईएको अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक घर्तीले बताउनुभयो ।

उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो ।

विद्यालय तहमा हुने जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गरिदिनुहुन अध्यक्ष बानियाँले आग्रह गर्नुभएको छ। अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको सह– प्रायोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l