आईजीपी बढुवा: देउवा र निधिबीच चर्को विवाद

  • २६ माघ २०७३, बुधबार
  • 1701 पटक पढिएको

IGP-Race-08022017122727-1000x0

काठमाडौं, २६ माघ । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने विषयलाई लिएर चर्को विवाद बढेको छ ।

स्रोतका अनुसार सभापति देउवा तेस्रो बरीयातक्रममा रहेका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छन् । तर, गृहमन्त्री निधि पहिलो बरीयातमा रहेका प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई ल्याउने अडानमा रहेपछि दुई नेताबीच दुरी बढेको हो ।

कांग्रेस संसदीय दलमा केही दिनअघि आईजीपी कसलाई बनाउने भन्ने विषयलाई लिएरै पार्टी पदाधिकारी र गुहमन्त्रीबीच बैठक समेत बसेको थियो । उक्त बैठकमा देउवा र निधिबीच विवाद भएको स्रोतले बतायो । देउवाले सुदूरपश्चिमका चन्दलाई बनाउन बारम्बार दबाव दिएपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, देउवाले चन्दलाई आईजी बनाउने भए बनाउनुहोस् नत्र छाड्नुहोस् भनेर निधिलाई दबाव दिँदै आएको स्रोतले बतायो ।

सुदुपश्चिमका सांसद तथा पार्टीका नेताहरु पनि चन्दलाई आईजी बनाउन गृहमन्त्रीलाई भेटेरै बारम्बार लबिङ गर्न थालेपछि गृहमन्त्री निधि पार्टी सभापतिसँग आक्रोशित बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालपनि गृहमन्त्रीकै पक्षमा छन् । पहिलो बरीयातमै रहेकालाई आईजी बनाउँदा आलोचना खेप्न नपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्री सिलवालको पक्षमा देखिएका हुन ।

आईजीपी बनाउने बिषयलाई लिएर बढेको विवादका कारण गृहमन्त्री निधि पार्टी सभापति देउवाको निवास समेत जान छाडेका छन् । ‘दिनहुँ सभापति देउवाको नाम लिदै सांसदहरु आईजी बनाउन दबाव दिन आउँछन्,’ स्रोतले भन्यो, ‘संगठनको हितका लागि भन्दा पनि नेताहरु आफ्नो क्षेत्रीय स्वार्थका लागि दबाव दिन थालेका छन् ।’

आईजी बनाउने बिषयमा सभापति र गृहमन्त्रीको बीच टकराव बढेपछि विकल्पमा देउवापक्षकै एक थरी नेताहरु दुवैलाई नबनाएर चौथो बरियातमा रहेका बमवहादुर भण्डारीलाई बनाउन सुझाएका छन् । ‘सभापति र गृहमन्त्री दुवैले हारेको स्थिति बन्न भएन भन्ने हाम्रो भनाई हो,’ दुई नेताबीचको विवाद मिलाउन जुटेका कांग्रेसका एक नेता भन्छन्, ‘यी विवाद बढ्दै जाँदा पार्टीभित्रै समस्या आउने देखिएको छ ।’

हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी यही फागुन तीन गते सकिदैछ । महानिरीक्षक चयनको किचलोकै कारण पदावधी सकिनुभन्दा एक महिना अघि नै महानिरीक्षक बिदामा बस्ने चलन समेत तोडिएको छ ।

महानिरिक्षक उपेन्द्रकान्त अर्यालले समयकै नयाँ महानिरीक्षक तोक्नका निम्ति बारम्बार प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् ।