पहाडका कविता

  • १६ भाद्र २०७६, सोमबार
  • 331 पटक पढिएको

पहाडका कविता

एउटा पहाड ( सपनाहरूको)
अर्को पहाड ( चुनौतीहरूको)

दुई पहाडको फेदिमा ( एउटा मान्छे)
लक्ष र भयको तराजुमा (एउटा मान्छे) ।

दुई बाटा
दुई पैताला
दुई बिचार
तर गन्तव्य एक ।

पिडाको गण्डकी तर्न नसकेको
सपनाको गोरेटो उक्लन नसकेको
एउटा मान्छे
जो उल्झिएको छ ( माकुरा झै)
जो थाकेको छ ( थकान झै )
र पनि
अग्लिन चाहन्छ ( सगरमाथा झै)
कुद्न चाहन्छ ( त्रीसुली झै)
लम्कन चाहन्छ ( वायु झै)
उ अरू केही चाहन्न ।

उसलाई सधै
माटो बन्नु छ
र फलाउनु छ खुशीका कोशाहरू
झुलाउनु छ मुस्कानका बालाहरू
उन्युजस्तो जिवनमा
फुलाउनु छ ( एकाध प्याउलिहरू )
उसलाई पहाड बन्नुछ
र अग्लाउनु छ ( कुल्चने पैतालाहरूलाई )
शत्रुका आखालाई उ आफ्नो पैताला देखाउन चाहन्छ ।

यसरी दुई पहाडको फेदिमा एउटा मान्छे
घरी बिगत सम्झन्छ र
भविष्यसङ्ग तर्सिन्छ
घरी भविस्य सम्झन्छ र
वर्तमानसङ्ग झर्किन्छ ।

सपनाको पहाड चढ्दा
चुनौतीको पहाडले कुल्चने डर
चुनौतीको पहाड चढ्दा हजार कठिनाई ।

यसरी एउटा मान्छे
जसको गन्तव्य सपनाका टाकुरामा छ
उसले लम्काउछ आफ्ना पैताला चुनौतीको पहाडतिर ।
र अदृश्य हुन्छ ।।

केही समय पछि उ एउटा मान्छे
सफलताको पहाडको शिखरमा भेटियो ।

सुमन हुलाकी, रघुगंगा-२, राखुभगवती, म्याग्दी।