सरकारी बोर्डमुनी निजी विद्यालय सञ्चालन

  • १९ बैशाख २०७६, बिहीबार
  • 3346 पटक पढिएको

धीरन खत्री,

म्याग्दी, १९ बैशाख । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको यो कृषि सेवा केन्द्रको भवन हो । तर भवनमा टासिँएको बोर्ड सरकारी कार्यालयको रहेपनि यो भवन भने निजी विद्यालय सञ्चालनमा प्रयोग हुदै आएको छ । तत्कालिन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको यस भवनमा विगत ५ बर्षदेखि नीजि विद्यालय संचालन हुँदै आएको हो ।


कृषि सेवा केन्द्र राखिएको भएपनि सो सेवा बन्द भएपछि सरकारको सम्पतिमा ब्यवसायिक रुपमा नीजि विद्यालय संचालनमा प्रयोग गरिएको पाईएको हो । कृषि सेवा केन्द्र सञ्चालन हुदै आएको सो भवनमा विगत ५ बर्षदेखि धौलागिरि पात्लेखेत इङलिस बोर्डिङ स्कूल संचालन हुदै आएको छ ।


तत्कालिन पात्लेखेत गाविसमा हुदाँ बेवारिसे रहेको भवनलाई मर्मत गरेर गाविसको अनुमतिमा नीजि स्कूलत संचालन गरिएको सञ्चालहरुको दावि छ । सो समयमा महिनाको १ हजार दरले नजिकै रहेको ओखले आधारमूत विद्यालयलाई रकम बुझाएपनि पछिल्लो समय स्थानीय सरकारको अनुमति नभई राजश्व नतिरिकन स्कूल संचालन भएको स्थानीयको आरोप छ । नीजि विद्यालयका संचालक सदस्य दिलबहादुर बुढाथोकीले बेवारिसे र जिर्ण अवस्थामा रहेको भवनलाई मर्मत गरेर बोडिङ संचालन गरिएको बताए ।


तत्कालित अवस्थामा गाविससंग अनुमति लिएर सरकारी विद्यालयको नीजि शिक्षकको तलवका लागि सहयोग गरिँदै आएको स्थानीय तहअनुसार नगरपालिकामा रहेपछि ओखले आधारमूत विद्यालय र नगरपालिकालाई तिर्नुपर्ने रकम भने नतिरीएको उनले स्विकार गरे । ‘‘अनुमति लिने प्रक्रियामा कागजपत्र वडामा बुझाएको छौ, नियमित भाडा तिर्ने वातावरण सिर्जन गर्न नगरपालिकासंग छलफल गर्ने प्रक्रियामा रहेका छौ’’– उनले भने ।


सो भवनलाई तत्काल कुनै सेवा कार्यालय स्थापना गर्ने योजना नरहेको बताउदै कुनै सरकारी कार्यालय बस्न आएमा नीजि विद्यालय हटाउने बेनी नगरपालिका–१० का कार्यावाहक अध्यक्ष लोकबहादुर पुन बताउछन् । सरकारी भवनमा संचालन गरिएको नीजि विद्यालयमा १ देखि ५ कक्षासम्म १ सय २० जना विद्याथी अध्ययनरत छ ।


सरकारी भवनमा नीजि विद्यालय संचालन भएपछि नजिक रहेको ओखले आधारभूत विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारी भौतिक संरचना ब्यवस्थित, तालिम प्राप्त शिक्षक र निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउदापनि सरकारी विद्यालय छोडेर नीजि विद्यालयमा संख्या बढेको छ । यस बर्ष ओखले आधारभूत विद्यालयमा यस बर्ष जम्मा १५ जना विद्यार्थी रहेका छन् । भने ३ र ४ कक्षा विद्यार्थी नरहेको प्रअ भगवती पौडेलले बताईन । भर्ना भएका विद्यार्थीहरुपनि पढ्न नआउने समस्या देखिएको छ ।


४० घर रहेको समुदायलाई लक्षित गरेर भौतिक संरचना ब्यवस्थित भएपनि अभिभावकहरुको मोह बोडिङले विद्यार्थी संख्या घटदै गएको प्रअ पौडेलले जानकारी दिईन । घरदैलो कार्यक्तम गरेपनि सरकारी विद्यालयमा भर्ना हुन १ जना मात्र आएको उनले बताईन ।


सदरमुकाम बेनी स्थित नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको भवन पनि नीजि विद्यालयको लागि भाडामा लगाईएको छ । बेनी स्थित माउण्ट एभरेष्ट बोडिङ स्कुलको मन्टेश्वरी संचालनको लागि रेडक्रसको भवन भाडामा लगाईएको हो । सरकारी र सामुदायिक सम्पतीमा निजी क्षेत्रलाई भाडामा लगाएपछि यसबारे जिल्लास्तरमा समेत आलोचना हुँदै आएको छ ।