डेंगु नियन्त्रणमा बहुपक्षीय भूमिका
- ७ श्रावण २०८३, बिहीबार
- 3 पटक पढिएको
डेंगु नेपालमा प्रत्येक वर्ष वर्षायाम र त्यसपछिको समयमा देखिने प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक हो ।जलवायु परिवर्तन, अनियोजित शहरीकरण, फोहोर व्यवस्थापनको कमजोरी तथा जनचेतनाको अभावका कारण डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्यको दृष्टिकोणले हेर्दा डेंगु नियन्त्रण उपचारभन्दा पनि रोकथाममा आधारित विषय भएकाले समुदायको सक्रिय सहभागिता सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक भाइरल रोग हो। डेंगु एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।यो विशेषगरी वर्षायाम तथा वर्षापछिको समयमा बढी फैलिने गर्दछ, किनकि यस समयमा विभिन्न स्थानमा पानी जम्दा लामखुट्टेले प्रजनन गर्ने अनुकूल वातावरण बन्छ।डेंगु आज विश्वका धेरै देशहरूमा स्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखा परेको छ।
डेंगु रोग नेपालमा पहिलो पटक सन् २००४ मा पुष्टि भएको थियो र यो रोग देशभर फैलिँदै गएको छ र विशेषगरी वर्षायाम तथा त्यसपछिको अवधिमा यसको संक्रमण बढी देखिने गरेको छ।यही कारणले मनसुनको समयमा, विशेषगरी साउन,भदौ,असोज महिनामा डेंगु सचेतना तथा रोकथाम अभियान सञ्चालन गरी लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, पानी जम्न नदिने, सरसफाइ कायम गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिन्छ ।
स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८१/०८२ अनुसार ५४ हजार ३ सय ५० Positive Cases पुष्टि भएका थिए भने गण्डकी प्रदेशमा ११ हजार ८६ डेंगुका बिरामी पुष्टि भएका थिए । यस तथ्याङ्क अनुसार गण्डकी प्रदेश पनि डेंगुबाट प्रभावित प्रदेशहरूमध्ये एक रहेको छ।त्यसैगरी, प्रदेश अस्पताल बेनी, म्याग्दीको Early Warning and Reporting System (EWARS) तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा डेंगुका २१ जना Positive cases पुष्टि भएका थिए । राष्ट्रिय तथा प्रदेशस्तरको तुलनामा म्याग्दी जिल्लामा डेंगु पुष्टि भएका बिरामीहरूको संख्या कम भए पनि डेंगु संक्रमणको जोखिम भने विद्यमान रहेको छ। म्याग्दी जिल्लामा पर्यटनको दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो र बेनी बजार मुस्ताङ जाने मुख्य प्रवेशद्वारका रूपमा पनि परिचित छ। यहाँ वर्षभरि देशका विभिन्न जिल्लाका साथै विदेशबाट समेत पर्यटक, यात्रु तथा अन्य व्यक्तिहरूको निरन्तर आवागमन भइरहन्छ। यसरी मानिसहरूको उच्च आवागमन हुने भएकाले संक्रमित व्यक्ति अन्य स्थानबाट जिल्लामा प्रवेश गर्ने सम्भावना रहन्छ जसले गर्दा म्याग्दी जिल्ला पनि डेंगु संक्रमणको दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ ।
वर्षायामसँगै डेंगु संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा यसको नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य छ ।प्रत्येक व्यक्ति, परिवार र समुदायले आफ्नो घर, आँगन तथा सार्वजनिक स्थान सफा राख्ने, पानी जम्न नदिने र लामखुट्टे हुर्किने वातावरण नष्ट गर्ने कार्यमा नियमित ध्यान दिनुपर्छ। गमला, टायर, प्लास्टिकका भाँडा, पानी ट्याङ्की, कुलर तथा अन्य खुला भाँडामा पानी जम्न नदिनु डेंगु नियन्त्रणको प्रभावकारी उपाय हो ।हप्तामा कम्तीमा एक पटक यस्ता स्थान सफा गर्ने बानीले डेंगुको जोखिम घटाउन सकिन्छ।
डेंगुका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउनु आवश्यक हुन्छ। उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा शरीरमा राता बिमिरा देखिएमा हेलचेक्र्याइँ गर्नु हुँदैन। प्रारम्भिक उपचार र नियमित निगरानीले जटिलता तथा मृत्युको जोखिम कम गर्न सक्छ।
डेंगु नियन्त्रणका लागि व्यक्तिगत सावधानी पनि उत्तिकै महत्त्वपूर्ण छ। पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टे भगाउने झुल वा रिपेलेन्ट प्रयोग गर्ने तथा बिहान र साँझ लामखुट्टे बढी सक्रिय हुने समयमा विशेष सावधानी अपनाउनुपर्छ।
डेंगु रोगको रोकथाम तथा नियन्त्रणमा समुदाय, टोल सुधार समिति, महिला स्वास्थ्य स्वयंसेविका (FCHV) र आमा समूहको भूमिका तथा जिम्मेवारी महत्वपूर्ण हुन्छ। समुदायका प्रत्येक सदस्यले आफ्नो घर, आँगन, टोल तथा सार्वजनिक स्थानको नियमित सरसफाइ गर्ने, पानी जम्न सक्ने स्थानहरू हटाउने, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने र डेंगु रोगका लक्षण तथा रोकथामका उपायबारे सचेत रहने जिम्मेवारी लिनुपर्छ। समुदायले प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरी फोहोर व्यवस्थापन गर्ने, पानी भण्डारण गर्ने सबै भाँडाहरू राम्रोसँग छोपेर राख्नुपर्छ र “खोज र नष्ट गर” अभियानमा सक्रिय सहभागिता जनाउनुपर्छ ।
टोल सुधार समितिले टोलवासीलाई परिचालन गरी नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्ने, जोखिमयुक्त स्थान पहिचान गरी व्यवस्थापन गर्ने तथा स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गर्ने भूमिका निर्वाह गर्नुपर्छ।महिला स्वास्थ्य स्वयंसेविका (FCHV) ले समुदायस्तरमा डेंगु रोगसम्बन्धी स्वास्थ्य शिक्षा तथा जनचेतना फैलाउने, डेंगुका लक्षण, रोकथामका उपाय र समयमै स्वास्थ्य संस्थामा जानुपर्ने विषयमा जानकारी गराउने तथा शंकास्पद बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन सहयोग गर्नुपर्छ । आमा समूहले स्वास्थ्य सचेतना अभिवृद्धि, घर–घरमा रोकथामका सन्देश प्रवाह तथा सरसफाइ अभियानमा सहभागिता र समुदायलाई सुरक्षित व्यवहार अपनाउन प्रेरित गर्ने कार्य गर्नुपर्छ। यसरी समुदाय, टोल सुधार समिति, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहको संयुक्त प्रयास, समन्वय र सक्रिय सहभागिताबाट डेंगु रोगको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सकिन्छ।
डेंगु नियन्त्रण कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन। सबै स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, आमा समूह, टोल विकास संस्था, युवा क्लब तथा सामाजिक संघसंस्थाले संयुक्त रूपमा जनचेतनामूलक अभियान सञ्चालन गरेमा समुदायमा डेंगुबारे सही जानकारी पुग्न सहयोग मिल्छ। सबै नागरिकको सचेतना, सहभागिता र सामूहिक प्रयासबाट मात्र डेंगु संक्रमणको जोखिम कम गर्न सकिन्छ।स्वस्थ, सुरक्षित र डेंगुमुक्त समाज निर्माणका लागि समुदायको सक्रिय भूमिका आजको आवश्यकता हो।