ताकम गाउँमा चलचित्र ‘माइतीघर’को छायांकन सुरु

  • १९ बैशाख २०८२, शुक्रबार
  • 115 पटक पढिएको

म्याग्दी  १८ बैशाख । गुर्जा र चुरेन हिमालको लस्करलाई नजिकबाट देख्न सकिने पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’को छायांकन सुरु गरिएको छ । धौलागिरी पदमार्ग अन्तर्गत पहिलो पर्यटकीय बस्तीको रुपमा परिचित म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकम गाउँमा पहिलो पटक चलचित्रको छायांकन गर्न लागिएको हो । 
गाउँमा ठूलो पर्दाको चलचित्र छायांकन गर्न निर्माता र कलाकारहरुको टोली आएपछि स्थानीयबासीले बाजागाजा र नाचगान गरेर स्वागत गरेका छन् । उक्त अवसरमा स्थानीय मन्दिरमा पूजापाठ गरेर धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम पुनले क्ल्याप र वडाध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकन कार्यको शुभारम्भ गर्नुभएको छ ।


चक्रिय धौलागिरी पदमार्ग, गुरिल्ला पदमार्ग र ढोरपाटन जलजला जाने पदमार्गले समेटीएको ताकम गाउँमा चलचित्रको छायांकनले ताकम गाउँलाई देश विदेशमा परिचित गराउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । आँखै अगाडी ढोकीन आउने हिमाल र परम्परागत ढुंगे घरहरु गुजमुज्ज मिलेर बसेको ताकम गाउँ मनमोहक देखिन्छ ।४० दिनको छायांकन कार्यतालिका अन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने बाँकी दृष्य म्याग्दीकै दरबाङ, तातोपानी क्षेत्रमा चलचित्रका निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो । आगामी दशैंको फूलपातिमा प्रदर्शनमा ल्याउने लक्ष्य सहिच छायांकन सुरु गरिएको चलचित्रमा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको प्रमुख अभिनय रहेको छ ।

मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नुहुने जनाइएको छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ रहनुभएको छ भने कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहनुभएको छ ।