सहज बन्दै बावियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडक (तस्बिर/भिडियो)
- २३ फाल्गुन २०८१, शुक्रबार
- 463 पटक पढिएको
म्याग्दी , २३ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरदेखि वडा नम्बर २ को हिदी जोड्ने सडक स्तरोन्नती थालिएको छ । बावियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडकखण्डलाई स्तरीय बनाउन सडक स्तरोन्नती योजना सञ्चालन गरिएको हो । यस सडक खण्डको भाइबाङ्गखोला काफलचौर खण्डमा सडक ढलान गर्न थालिएको छ ।
गाउँपालिकाको गौरवको योजनाको रुपमा कार्यान्वयन गरिएको यस योजनामा प्रदेश सम्पुरकबाट रु ६० लाख र गाउँपालिकाबाट ४० लाख गरी कुल रु १ करोड बजेट विनियोनज भएको थियो । ठेक्का मार्फत रु ९४ लाखमा ठेक्का लिएको मंगला कन्स्ट्रक्सन प्रा.लिले सडक ढलानको कामलाई तिब्र बनाएको छ ।
तीन सातादेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले ग्याविन जाली, मेसिनरी पर्खाल र प्लम पर्खाल लगाएर सडक ढलानको काम अघि बढाएको गाउँपालिकाका असिस्टेन्ट सब इन्जिनियर बिपिन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, यस सडकखण्डमा ६ मिटर फराकिलो र ११० मिटर सडकलाई यस बर्ष ढलान गरिनेछ । यस सडकखण्डमा यस अघि २६० मिटर सडकलाई ढलान गरिसकिएको छ ।