ठाडाखानीमा रहेका तामाखानीका सुरुङ पुरिन थाले

  • १ फाल्गुन २०८१, बिहीबार
  • 1139 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीमा रहेका तामाखानीका सुरुङ पुरिन थालेका छन् । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम बर्षौदेखि रोकिएको र पुर्खाहरुले तामाखानी पत्ता लगाएका ठाउँहरु समेत संरक्षणको अभाबमा पुरिन थालेका हुन् । पुरानोगाउँ नजिकै रहेको चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको छ ।

यस ठाउँमा परम्परागत रुपमा तामा खनेका दुई वटा सुरुङ रहेपनि अहिले एउटा पुरिएको र अर्को सुरुङ समेत पुरिने अवस्थामा पुगेको स्थानीय युवा मन छन्त्यालले बताउनुभयो । ‘‘ गाउँवरपर तामाखानीका धेरै भग्नावशेषहरु छन, सुरुङ वरपर प्रशस्त मात्रामा तामाका धाउहरु फेला पर्छन, तर खानी खन्ने पेसा बन्द भएसंगै अहिले खानीका अवशेषहरु समेत मेटिने जोखिम बढेको छ’’– उहाँले भन्नुभयो । ठाडाखानी गाउँको शिरमा पर्ने रुमाले गाउँको भीर, इच्छिमाझ भीर लगायतका ठाउँमा तामाखानीका दर्जनबढी सुरुङ रहेका छन् ।


अधिकाँश ठाउँका सुरुङमा अहिलेपनि तामाका धाउ प्रशस्त मात्रामा देखिने भएपनि ति सुरुङहरु नै पहिरो र भलबाढीको कारण पुरिने अवस्थामा पुग्न थालेका छन् । तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई बुझाउनुपर्ने भेजा (कर) बढाएपछि यस क्षेत्रमा रहेका खानीहरु उत्खनन हुन छाडेर स्थानीयले बस्ती नै अन्यत्र सारेका थिए भने पेसा समेत परिवर्तन गरेका थिए । ठाडाखानीको पुरानो गाउँमा रहेको बस्ती सरकारले खानीलाई बन्द गराएपछि कृषि पेसालाई अंगाल्नका लागि अहिलेको ठाउँमा स्थानान्तरण भएको पाइएको रघुगंगा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताउनुभयो ।

‘‘ हाम्रो पुर्खाको इतिहास खेतीपाती गर्ने र पशुपालन गर्ने होइन, जहाँ खानी छ, त्यही गएर बस्ने र खानी खनेर जीविका चलाउने हाम्रो पुख्र्यौली पहिचान हो, तर पछि सरकारले कर लगाउन थालेको र स्थानीयले तिर्न सक्ने अवस्था नबनेपछि खानी खन्ने पेसा संकटमा परेको हो ’’– छन्त्यालले भन्नुभयो । ठाडाखानीको पुरानो गाउँमा तत्कालिन समयमा बस्ती रहेको घरहरुका भग्नावशेष संगै खानीबाट ल्याइएका धातु पगालेर तामा निकालेपछि फालिएका तामाका धाउहरु पाखैभरी देख्न सकिन्छ । परम्परागत आरनमा आगोले धातु पगालेर धाउलाई पाखामा छाडेकाले पुरानो गाउँमा खेतीपाती हुँदैन भने रुखविरुवा उम्रन समेत मुस्किल पर्छ । आफ्नो पुख्र्यौली पेसा नै बन्द भएको र खेती किसानी गर्नुपर्ने भएपछि पुरानो गाउँबाट करिब १५ मिनेटकोे दुरीमा रहेको हालको ठाडाखानीमा करिब १ सय बर्ष अघि सिंगो गाउँ नै सरेर आएको स्थानीयबासी बताउँछन् ।

तत्कालिन समयमा छन्त्याल समुदायले माटो र भिरको ढुंगा सुँघेर धातु भए÷नभएको पत्ता लगाउने गरेको किम्बदन्ति छ । औजार र उपकरणको समेत विकास नभएको अवस्थामा तत्कालिन समयमा कुटो, कोदालो, घन, टुकटुके र छिनाजस्ता घरेलु औजारले पहाडभित्र सुरुङ बनाउने र सुरुङभित्र निंगालाको भाङ बालेर धातु खन्ने गरेको स्थानीय बुढापाका बताउँछन् ।
छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने भएपनि सरकारले कर बढाएपछि खानी खन्ने पेसा छाडेर अन्य पेसामा लाग्नुपरेको ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयका पूर्व प्रधानध्यापक समेत रहनुभएकी स्थानीय खिममायाँ छन्त्यालले बताउनुभयो । ‘‘ यस्ता अक्करे भिर पहाडहरुमा कुनै प्रविधिको प्रयोगविना र खोज अनुसंधान विनै धातुका खानीहरु पत्ता लगाउनुले हाम्रो पुर्खाहरुको विज्ञतालाई झल्काउँछ, अहिलेपनि यस क्षेत्रमा खोज अनुसंधान गर्ने हो भने प्रशस्त मात्रामा खानीहरु रहेको पुष्टि हुनसक्छ, तर पुराना खानीहरु भग्नावशेष भैसकेका छन, उत्खननमा सरकारी तवरबाट कुनै पहल भएको छैन’’– छन्त्यालले भन्नुभयो ।
ठाडाखानीसंगै म्याग्दीमा छन्त्याल समुदायको परम्परागत बसोबास रहेका कुइनेखानी, चौरखानी, मंगलेखानी, गुर्जाखानी, मल्कबाङ, मच्छिम, ओखरबोट लगायतका बस्तीहरु नजिक प्रशस्त्र मात्रामा तामाखानीका सुरुङहरु रहेका छन् । खानी बन्द भएपछि छन्त्याल समुदायको पेसा समेत परिवर्तन भएको छ । खानी बन्द भएलगत्तै तत्कालिन समयमा छन्त्याल समुदायका युवाहरु भारतीय र बेलायती सैनिकमा भर्ति हुनेक्रम उच्च रहेको थियो भने अहिले वैदेशिक रोजगारीदेखि व्यापार व्यवसायको क्षेत्रमा आबद्ध छन् ।
रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले परम्परागत खानीहरु आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताउँदै खानी उत्खनन् गर्न कसेमा राज्यलाई आम्दानी र स्थानीयलाई रोजगारी सिर्जना हुने बताउनुभयो । ‘‘ सरकारले पुराना खानीहरु उत्खनन् गर्ने नीति त लिएको छ, तर अहिलेसम्म स्थानीय सरकारले कस्तो भूमिका खेल्ने स्पष्ट भैसकेको छैन, संघ र प्रदेश सरकारले खानी उत्खनन्को लागि स्पष्ट अवधारण सहित स्थानीय सरकारलाई अधिकार दिने हो भने बन्द भएका खानीहरुलाई पुनः सूचारु गराउन सकिन्छ’’– उहाँले भन्नुभयो ।