धवलागिरीमा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान

  • १४ माघ २०८१, सोमबार
  • 123 पटक पढिएको

मुना, १४ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन हुने जानकारी गराइएको हो ।

धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले सात वटै वडामा कक्षा ६ देखि १० सम्मका पाँच सय ८८ जना र विद्यालय नजाने २० जना १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । १६ वटा विद्यालय र सात वटा स्वास्थ्य संस्थामा खोप केन्द्र बनाएर खोप लगाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ ।

खोप अभियानको कार्यक्रम तालिका तयार पारिएको र वडा स्तरमा पनि अभिमुखीकरण गरिने स्वास्थ्य संयोजक खाती कार्कीले बताउनुभयो । विश्वमा वार्षिक साढे पाँच लाख महिला प्रभावित हुने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रतिवर्ष एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेका छन् । असुरक्षित यौन सम्पर्क पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो । एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने बताइएको छ । नेपालमा आगामी वर्षदेखि सरकारले एचपिभीलाई नियमित खोप कार्यक्रममा समावेश गरेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र वडा नं. १ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले एचपिभी खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई निर्देशन दिनुभयो ।