आठौं म्याग्दी महोत्सवको तयारी पूरा, पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

  • २८ पुष २०८१, आईतवार
  • 23 पटक पढिएको

म्याग्दी २८ पुस । म्याग्दी सरदमुकाम बेनीमा आजदेखि सुरु हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मूल आयोजनामा आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल संयोजक एवं संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।


महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सञ्चालन हुने बेनी स्थित खुलामञ्चमा मञ्च व्यवस्थापन, स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई तोरना टाँगेर झिलिमिली बनाईएको छ ।


महोत्सव उद्घाटनका अवसरमा आज बेनीमा विभिन्न जातजाति र संघ संस्थाको कला, संस्कृति र भेषभूषाको पहिचान झल्कने झाँकी प्रदर्शन गरिने म्याग्दी उद्योग बाणिज्य संघका महासचिब नारायण जिसीले बताउनुभयो । महोत्सव स्थलमा जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्रि वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न निशुल्क स्टलको व्यवस्था गरिएको छ ।

 

महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धि स्थानीय उत्पादनका सामाग्री विक्रि र प्रदर्शनीमा राखिने छ । महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका द्धितिय उपाध्यक्ष अमृत बानियाँले जानकारी दिनुभयो ।

महोत्सवमा विद्यालयहरुको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिने संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

१० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर रु पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

चर्चित राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, खुला पुख्र्यौली नाच , भजन, लोकनृत्य, रत्यौलीलगायतका प्रतियोगितालाई समावेश गरिएको संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । त्यसैगरि गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगितामा , गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, साविक धौलागिरी अञ्चल स्तरीय बि लेभल पुरुष डबल व्याडमिण्टन प्रतियोगिता, छेलो फाल्ने लगायतका खेलकुद प्रतियोगिता समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।