माओवादी केन्द्र अन्नपूर्णको अध्यक्षमा पूर्ण पाइजा
- १४ पुष २०८१, आईतवार
- 387 पटक पढिएको
पोखरेबगर, १३ पुुष । नेकपा (माओवादी केन्द्र) अन्नपूूर्ण गाउँपालिका कमिटि, म्याग्दीको तेस्रो सम्मेलन शनिबार पोखरेबगरमा सम्पन्न भएको छ । सम्मेलनबाट पूर्णबहादुर पाईजाको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा श्याम खड्का, समिक्षा बिक, फुलबहादुर गर्बुजा, सचिवमा प्रेमबहादुर पाईजा, सहसचिवमा अरुण बिक र कोषाध्यक्षमा कबिता क्षेत्री चयन हुनभएको छ ।
सम्मेलनको उद्घाटन गर्नुहुदै नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले सुशासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दालाई माओवादीले नछाड्ने बताउनुभयो ।
माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि काँग्रेस र एमाले मिलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाएका र यो सरकारले भ्रष्ट्रहरुको संरक्षण गरिरहेको पौडेलले बताउनुभयो ।
माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा पुर्व सांसद बिनोद केसी, सांसद हरिबहादुर भण्डारीले म्याग्दीका अधुरा आयोजनालाई पूर्णता दिन र नयाँ विकास आयोजना भित्र्याउन माओवादीले अगुवाई गरेको बताउनुभयो ।
जिल्ला संयोजक सेरबहादुर केसी, नेता बागबिर पाइजा लगायतले आगामी निर्वाचनमा माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने बताउदै त्यसको तयारीमा जुट्न आग्रह गर्नुभयो ।