ट्रिपर दुर्घटना हुँदा राहुघाट जलविद्युतका दुई मजदुरको मृत्यु

  • ११ पुष २०८१, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ बुक्लमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निर्माणधिन राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ को सुरुङ जाने बाटोबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतिय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बिपि२–ए७५६८ नम्बरको ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तरप्रदेश घर भएका ३३ बर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेश घर भएका ४० बष बर्षका सत्रुधन रजकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गयराती करिब १ बजेदेखि काम गर्ने कार्यक्षेत्रबाटै बेपत्ता भएका दुबै जना आज विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसंधान भैरहेको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

प्रहरी र जलविद्यूत आयोजनाका मजदुरहरुको सहायताले दुर्घटनाग्रस्त ठाउँबाट मृतकहरुको सबलाई बाहिर निकालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण कार्य गरिरहेको छ ।