भूतपूर्व सैनिक सहकारीको १९ औँ साधारणसभा, अध्यक्षमा श्रेष्ठ चयन

  • १५ भाद्र २०८१, शनिबार
  • 503 पटक पढिएको

म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार बेनीमा सम्पन्न १९ औँ बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
गत बर्ष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपनि तत्कालिन अध्यक्ष झलप्रसाद गौचनको निधन भएपछि १९ औँ बार्षिक साधारणसभाले विशेष अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा हिराप्रसाद श्रेष्ठ, सचिबमा कल्पना रेग्मी पाध्याय , कोषाध्यक्षमा दलबहादुर भण्डारी चयन हुनुभएको छ भने सदस्यहरुमा रामप्रसाद सुवेदी, रामबहादुर पौडेल, मिनाकुमारी मल्ल हमाल, कमला केसी, तिलक प्रसाद श्रेष्ठ, रत्नकुमारी कार्की र बलराम सुवेदी चयन हुनुभएको छ ।


अधिवेशनको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले सहकारीका सिद्धान्त, मार्गदर्शन र प्रणालीमा रहेर सञ्चालन गरेको कारण भूतपूर्व सैनिक सहकारीको आर्थिक, वित्तिय पक्ष उत्कृष्ट गरेको बताउनुभयो । उहाँले नेफस्कुनद्धारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास ( प्रोबेसन( कार्यक्रममा आबद्ध सहकारीहरुमा समेत भूतपूर्व सहकारी उत्कृष्ट रहेकाले निर्धक्क भएर सहकारीमा बचत तथा ऋणका कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।


सहकारीले आर्थिक बर्ष २०८०÷०८१ मा रु २५ लाख ४ हजार ३४४ सञ्चालन मुनाफा गरेको छ । रु ४ करोड ३४ लाख ८० हजार तीन सय शेयर पुँजी रहेको यस सहकारीले रु १५ करोड ६९ लाख ६ हजार ५६० बचत संकलन र रु १३ करोड ८३ लाख ९८ हजार ४०५ लगानी गरेको संस्थाका प्रवन्धक नारायण सुवेदीले जानकारी दिनुभयो । साधारणसभामा ज्येष्ठ शेयर सदस्य तुलबहादुर छन्त्याल, सहकारीका प्रोबेसन संयोजक कासिराम रेग्मी, शेयर सदस्य गजिन्द्र श्रेष्ठ, कमला सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।


साधारण सभाको अवसरमा उत्कृष्ठ बचतकर्ताको रुपमा तिलु शर्मा, अञ्जु पुन फगामी, अञ्जु शर्मा पौडेल, इन्द्रमान थजालीलाई सम्मान गरिएको थियो भने एसइई परिक्षा उर्तिण गर्न सफल ९ जना शेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरि ज्येष्ठ शेयर सदस्य ९६ बर्षिय लालबहादुर हमाल र ९१ बर्षिय तुलबहादुर छन्त्याललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा प्रवन्धक नारायण सुवेदी, ऋण प्रमुख सञ्जन श्रेष्ठ र मौवाफाँट सेवा केन्द्र प्रमुख भदेवी तिलिजालाई समेत सम्मान गरिएको थियो ।

संस्थाका कार्यवहाक अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिब हिरा प्रसाद श्रेष्ठले बार्षिक र कोषाध्यक्ष कल्पना रेग्मी पाध्याले आर्थिक तथा रेशमबहादुर छन्त्यालल लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने रामप्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बेनीको कोटभण्डारटोलमा मुख्य र रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा सेवा केन्द्र मार्फत बचत संकलन तथा ऋण लगानीको कारोवार सेवा दिँदै आएको छ ।