गुर्जालाई जोड्ने सडक सञ्जाल निर्माण सुरु

  • ११ बैशाख २०८१, मंगलवार
  • 1017 पटक पढिएको

म्याग्दी (बेनी), वैशाख ११ गते । म्याग्दीको दुर्गम बस्ती गुर्जालाई जोड्ने सडक सञ्जाल निर्माण सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–१ को गुर्जा अहिलेसम्म सडकसँग जोडिएको छैन । सडक निर्माण योजना सुरु भएसँगै गुर्जावासी उत्साही भएका छन् । जिल्लामा रहेका ४५ वडामध्ये गुर्जाबाहेक अन्य वडा सडक सञ्जालसँग जोडिएका छन् ।

भौगोलिक विकटता, भिरपहरा, घना जङ्गल, लामो दुरी र सडक योजनाका लागि बजेटको अभावलगायतका कारणले गुर्जा गाउँमा सडक विस्तार गर्न नसकिएको हो । चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट वडा नम्बर–२, लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण सुरु गरिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले तीन करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ । सङ्घ, प्रदेश र गाउँपालिकाले सडक निर्माणका लागि विनियोजन गरेको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो ।

गत फागुनमा सम्झौता भएको योजना आगामी २०८१ असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका इन्जिनियर लोकेन्द्र रावलले बताउनुभयो । योजना अन्तर्गत अहिलेलाई छदेखि आठ किलोमिटर सडकको ट्र्याक खोलिने छ । इन्जिनियर रावलले भन्नुभयो, “दुई वटा डोजर परिचालन गरेको ठेकेदार कम्पनीले लुलाङतर्फबाट करिब एक हजार पाँच सय मिटर सडकको मार्ग खोल्ने काम सकिसकेको छ । दुई लाख पाँच हजार घनमिटर माटो कटिङ गर्ने सम्झौता अनुसार यो आर्थिक वर्षमा देउराली डाँडासम्म करिब छ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।”

देउराली डाँडासम्म पुगेको सडकलाई गुर्जा गाउँसम्म पु¥याउन करिब १२ देखि १४ किलोमिटर सडकको ट्र्याक खोल्नु पर्दछ । पालिकाको दुर्गम बस्तीमा सडक विस्तारका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर सम्बन्धित निकायमा बजेट माग गरिएको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । सङ्घ र प्रदेश सरकारबाट आगामी आर्थिक वर्षमा पनि पर्याप्त मात्रामा बजेट विनियोजन भए गुर्जासम्म सडकको ट्र्याक खोलिने उहाँले बताउनुभयो ।    gorkhapatraonline.com