अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

  • २ चैत्र २०८०, शुक्रबार
  • 161 पटक पढिएको

कमल खत्री
म्याग्दी, २ चैत ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न लागिएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो ।

सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर,पर्यटनकमी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरिक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।


एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटीएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।


‘‘ गुरुयोजनामा समेटिएका पूर्वाधारहरुलाई गाउँपालिका, प्रदेश र संघीय सरकार तथा पर्यटन बोर्ड लगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यो बर्ष लज निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ’’–अध्यक्ष पुनले भन्नुभयो । गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, सौचालय र खानेपानीको सुविधा पु¥याउने, आरोहीहरुको सुविधाका लागि गोदाम घर बनाउने योजना समेत अध्ययन गरिएको छ ।


त्यसैगरि पदमार्ग अन्तरगत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरि खानेपानी, सौचालय लगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पु¥याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफि सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।


गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्धारलाई पर्यटक प्रवेशद्धारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेस गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजीकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ । गाउँपालिकालाई पर्यटन बोर्डले समेत रु तीन करोड बराबरको पर्यटन पूर्वाधारका योजना माग गरेकाले यसै पदमार्गका पर्यटन पूर्वाधारका योजनालाई नै सिफारिस गर्ने गाउँपालिकाले जनाएको छ ।


अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग र आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको गउाँपालिकाले नारच्याङमा घरबास र पर्यटक पथप्रदर्शक तालिम समेत सञ्चालन गर्ने तयारी गरेको छ । एकीकृत गुरुयोजना निर्माण गर्न गाउँपालिकाले यस बर्ष रु १५ लाख बजेट विनियोजन गरेको थियो । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ ।


सन १९५० जुन ३ तारिककादिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाईला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ ।

हुमखोलादेखि आधार शिविरसम्मको १६ किलोमिटर दुरीमा ८ किलोमिटर व्यवस्थित पदमार्ग निर्माण भएको छ भने पाँच किलोमिटर पदमार्ग मर्मत र तीन किलोमिटर पदमार्ग नयाँ निर्माण गर्नुपर्ने छ । सडक र पदमार्गका पूर्वाधार बनेर यात्राअवधि छोटिएको भएपनि पर्यटकहरुको सुविधाको लागि होटल, लज, खानेपानी, शौचालय लगायतको सुविधा नभएपछि गाउँपालिकाले एकिकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाई रहेको छ ।     रासस