गौशालामा सीमित भए रैथाने गाई

  • १४ फाल्गुन २०८०, सोमबार
  • 381 पटक पढिएको

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उहाँले भन्नुभयो, “गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।” पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् ।                                     पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहूलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको १५ वर्ष भयो । “थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो छ”, उहाँले भन्नुभयो, “खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलनै हरायो ।”     विदेशिए गोठाला, हराए गोठ 

ताकममा मात्र नभएर हिजोआज पहाडका गाउँघरमा रैथाने जातका गाई भेट्टाउन मुस्किल पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका रैथाने गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातको व्यावसायिक पशुपालन उपयुक्त हो । उन्नत जात र व्यावसायिकतासँगै रैथाने जातका पशुको संरक्षणमा ध्यान पुगेको देखिँदैन ।

बढी दूध दिने उन्नत र वर्णशङ्कर जातको गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो । “खेतबारीमा मल बनाउन, ‘गोरस’ ९दूध, दही, मही र घ्यु०, धार्मिक कार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेंशी गरिन्थ्यो,” उहाँले भन्नुभयो “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे । ट्याक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठमा जाने गरेका छन् । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेशीका फाँटमा झर्छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

ट्याक्टर र यान्त्रिक हलोले गोरु विस्थापित 

दुई दशकअघिसम्म स्याङ्जा, पर्वत, कास्की, बाग्लुङका कृषक खेतबारी जात्ने गोरु किन्न म्याग्दीको धवलागिरि गाउँपालिका जाने गर्दथे । होचा र साना शरीर हुने पहाडी जातका गोरु बलिया, पाल्न सजिलो र १५/२० वर्षसम्म जोत्नका लागि प्रयोग गर्न सकिन्छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजाल भन्नुहुन्छ, “मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ”, उहाँले भन्नुभयो, “सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले वर्णशंकर र उन्नत जातको गाई बढ्ने र स्थानीय जातका घटेको देखिन्छ ।” उहाँका अनुसार जिल्लामा हाल २० हजारको संख्यामा गाई पालिएका छन् । फरक फरक जातका गाईको गणना र तथ्याङ्क छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेखअनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीलगायत जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरु भुटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन्  । २०० देखि ३०० केजीसम्म तौल हुने पहाडी गाईको रङ  कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । यी गाईले एक बेतमा १५०–२०० लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात हुन् ।                              हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ । गाईको गोबर घर लिपपोतमा प्रयोग गर्ने चलन छ । बिकारयुक्त किटानु नष्ट गर्ने शक्ति हुने भएकाले घर लिपपोतमा गाईको गोबर प्रयोग गरिएको बुढापाका बताउँछन् ।

गाई संरक्षणमा जलजला गाउँपालिका 

पर्वतको जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरी क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ । स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरीङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउन काम थालेको हो ।

सङ्घीय सरकारको साझेदारीमा गौशाला निर्माण शुरु गरेको गाउँपालिकाले स्थानीय जातका गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन रु। आठ लाख बिनियोजन गरेको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । “धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका स्थानीय जातका गाई र गोरु पाल्ने कृषकलाई अनुदान दिएर संरक्षणको पहल थालेको हो,” उहाँले भन्नुभयो “आधुनिक र व्यावसायिक पशुपालन तथा कृषिलाई प्रवद्र्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएका हौ ।” चालु आर्थिक वर्ष २०७९/८० मा ४०० वटा गाईगोरु पालेका कृषकले रु। चार लाख अनुदान पाएका थिए ।

गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्य भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आउनुभएको छ ।

“गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ती, धुप, ‘इकोप्रेसर म्याट’, चप्पल, भित्तेघडीजस्ता सामान बनाउन थालेका छौँ”, कर्मचारी आचार्यले भन्नुभयो, “गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पूजा र सजावटका सामग्री बनाउन थालेका हौ ।” गहुँत प्रशोधन गर्ने उपकरण ल्याइएको छ ।

गौशाला नजिकै रहेको धाइरिङ भूमे ठाकुरको थान, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । “हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको कालञ्जर पर्वत क्षेत्र जलजला गाउँपालिकाकै पहाड हो”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई कृषि र धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयासमा लागेका छौँ ।” रासस