‘म्याग्दी हिमाली जिल्ला’ घोषणा भएको पाँच बर्ष पुरा हुँदा पनि आएन सुविधा
- ११ फाल्गुन २०८०, शुक्रबार
- 427 पटक पढिएको
म्याग्दी (बेनी), ११ फागुन । म्याग्दीले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगेपनि हिमाली जिल्लाको सुविधा पाउन सकेको छैन् । धौलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, पुठा, बराहशिखरलगायतका आधादर्जन बढी हिमाल र चार दर्जन बढी हिमचुचुराले समेटिएको म्याग्दीलाई सरकारले २०७५ फागुन १९ मा राजपत्र प्रकाशित गरी २१ औं हिमाली जिल्ला घोषणा गरेको थियो । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको धौलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिका प्रत्यक्षरुपमा हिमाली भूगोलले समेटिएको छ ।
हिमाली भूगोल र भौगोलिक विकटता रहेपनि सरकारले म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरेको घोषणा व्यवहारिकरुपमा कार्यान्वनयमा आउन सकेको छैन् । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न जिल्लामा हिमाली भूभाग ओगटेका स्थानीय तहहरुबाट आएको मागबमोजिम जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाबाट प्रस्ताब स्विकृत भएपछि सरकारले म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिएको थियो ।
हिमाली जिल्ला घोषणा भएको पाँच बर्ष सम्म पनि हिमाली जिल्लाको सुविधा नआउनु बिडम्बना पूर्ण रहेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । ‘‘ हिमाली जिल्लामा सूचिकृत भएपछि हामीले गुमेको पहिचान पाएको अनुभूति गरेका थियौँ, तर व्यवहारमा त्यो अनुभूति गर्न अझै पाएका छैनौँ, घोषणा त भयो तर सरकारले अहिलेसम्म हिमाली जिल्लाको सेवा सुविधा उपलब्ध गराएको छैन’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । जिल्लाको सबैभन्दा दुर्गम र धेरै हिमालले घेरिएको वडाको रुपमा चिनिने गुर्जा र सहरी क्षेत्रका वडाले पाउने सुविधा एउटै हुँदा विकास र सुविधामा विभेद हुँदै आएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।
सरकारले हिमाली जिल्ला घोषणा गरे पनि कर्मचारी, शिक्षक, सुरक्षाकर्मीले हिमाली जिल्लाको मापदण्डअनुसार भत्ता र सोहीअनुसारको कार्य मूल्यांकन हुन नसकेको गुनासो गरेका छन भने जिल्लावासीले पनि हिमाली मापदण्डअनुसारको सेवा, सुविधा र अवसर पाउन सकेका छैनन् । हिमाली जिल्ला घोषणा भएको पाँचबर्ष बितिसक्दा समेत जिल्लाले हिमाली जिल्लाको सुविधा नपाएको सन्दर्भमा सरकार र सदन मार्फत सरकारको ध्यानकर्षण गराएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले बताउनुभयो । आइतवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको पश्नोत्तर कार्यक्रममा सांसद गर्वुजाले हिमाली जिल्लामा समावेश गरेको लामो समय भैसक्दा पनि जिल्लाबासीले हिमाली जिल्ला घोषणा भएको महसुस नगरेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।
सांसद गर्वुजाको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहालले म्याग्दी लगायत हिमाली जिल्लामा सूचिकृत भएका जिल्लाहरुमा राज्यले दिने सेवा र सुविधामा सहुलियत दिने कुरामा सरकार सकरात्मक रहेको जवाफ दिनुभएको थियो । सरकारले बजेटको प्राथमिकता, विकासमा जनसंख्याको मापदण्ड, कर्मचारीको सेवा सुविधा, ढुवानीको दर निर्धारण, प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई राहतलगायत राज्यबाट पाउने सेवा सुविधामा भौगोलिक पहिचानलाई आधार मान्ने गरेको छ । सरकारले हिमाली जिल्लामा पुँजीगत खर्च गर्ने समयसिमा समेत बढाउने गरेको छ ।
हिमाली र पहाडी जिल्लाको बजेट र विकासको मापदण्ड नै फरक–फरक हुने भएकाले हिमाली जिल्लाको घोषणा कार्यान्वयनमा आएमा बजेटमा पाउने प्राथमिकता, विकासमा पाउने सुविधा र कर्मचारीले पाउने सेवामा बृद्धि ह्ुने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । ‘‘ कर्मचारीको सुविधा बढे जिल्लामा अब्बल कर्मचारीहरुको आकर्षण बढ्न सक्छ,शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारको मापदण्डमा फेरवदल आउँदा दुर्गम बस्तीका नागरिकले राज्यको सुविधा नजिकबाट उपभोग गर्ने अवसर सिर्जना हुनसक्छ, तर अहिलेसम्म हिमाली जिल्लाको सुविधा जिल्लाले पाउन सकेको छैन’’–उहाँले भन्नुभयो ।
जिल्लामा हिमाल भूगोलको अवस्था ः
जिल्लाको गुर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुइनेमंगलेलगायतका वडाहरुको भूगोल दुर्गम भएपनि त्यहाँका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले सुविधा सुगमको मात्र पाउने भएकाले सक्षम कर्मचारी जान नमान्ने र आएका कर्मचारीहरु पनि टिक्न नसक्ने समस्या रहेको छ । म्याग्दीका धौलागिरी र अन्नपूर्ण गाउँपालिका हिमालकै नामबाट नामाकरण गरिएको छ । मुदीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालबाट धौलागिरि गाउँपालिका र नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालबाट अन्नपूर्ण गाउँपालिका नामाकरण गरिएको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा धौलागिरी प्रथम देखि छैटौँ सम्मका हिमचुचुरा रहेका छन् । मानापाथी हिमालको हिमचुचुरो समेत मुदीमै पर्छ । धौलागिरी हिमालले रघुगंगा गाउँपालिकाको कुइनेमंगले र चिमखोलालाई समेत समेटेको छ । जिल्ला सदरमुकाम बेनी देखि २६ कोष टाढाको दुरीमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुठा हिमाल रहेका छन् । पुठा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर नै रहेको छ । बराहशिखर हिमालसमेत रहेको नारच्याङमा निलगिरि हिमालको दक्षिण र पूर्वि मोहोडा समेत पर्छ । अन्नपूर्ण गाउँपालिका –५ शिखको पाउद्धार तर्फको लेकले अन्नपूर्ण हिमालको दक्षिण मोहोडा समेटीएको छ । यिनै हिमाल संगै म्याग्दीमा दर्जना ैहिमालका चुचुराहरु रहेका छन् ।