राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण

  • ३ फाल्गुन २०८०, बिहीबार
  • 379 पटक पढिएको

 

म्याग्दी, फागुन ३ गते । कालीगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राममन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ । गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका-२ स्थित रामन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले माछापुच्छ्रे निर्माण सेवासँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्षको माघ ९ गते चार करोड ३२ लाख ७९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

 

ठेक्का सम्झौता लगत्तै निर्माण व्यवसायीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माणको काम थालेको थियो । आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भएपनि दश महिना अगावै योजना सम्पन्न हुन लागेको हो। अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

संरक्षण योजनाको काम करिब अन्तिम चरणमा पुगेको छ, माछापुच्छ्रे निर्माण सेवाको सहायक ठेकेदार रारा कन्स्ट्रक्सन प्रतिनिधि बलबहादुर सुनारले भन्नुभयो, “गत फागुनबाट काम थालेका थियौँ । वर्षातको केही महिना काम रोकियो । अन्य समयमा दैनिक रूपमा ३० देखि ४० जना मजदुर र उपकरण परिचालन गरेर निर्माणलाई तीव्रता दिएका छौँ । यही फागनुमहिना भित्र सम्पूर्ण काम सक्ने तयारी गरेका छौँ ।”

 

रुपताल संरक्षण एकीकृत विकास परियोजनाका सब–इन्जिनियर अशोक तिमिल्सिनाका अनुसार योजनामा जमिन मुनी ५० सेन्टिमिटर चौढाई भएको साढे दुईमिटरको कटअफ निर्माण गरी तीन मिटर उचाइ भएको चार मिटरको फराकिलो पक्की कम्पोजिटवाल निर्माण गरिएको छ । निर्माण भएको कम्पोजिट वाल माथि आवश्यकता अनुसार तीनदेखि चारमिटर उचाइसम्म ग्याबियन झाली भरिएको उहाँले बताउनुभयो ।

 

नदी कटानको उच्च जोखिममा भएको धार्मिक महत्वको क्षेत्र भएकाले समय भन्दा अगावै काम सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रूपमा अनुगमन र ठेकेदारलाई ताकेता गरिएका कारण सम्पन्न हुने मिति भन्दा अगावै योजनाको काम सम्पन्न हुन लागेको उहाँले बताउनुभयो ।

 

तीन वर्षअघि कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राम मन्दिरमा क्षति पुर्‍याएको थियो । नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको थियो । मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको थियो ।

 

काली गण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजारको क्षेत्र र वरपरका बस्तीलाई जोगाउन यतिखेर आठ ठुला योजना निर्माणाधीन छन् । नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले एक वर्षअघि देखि करिब ४८ करोड रुपियाँ बराबरका योजनाहरू सञ्चालन गरेको छ । उक्त योजनाहरू चालु आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा पुगेका छन् । साभार : orkhapatraonline.com