भूतपूर्व सैनिक सहकारीको नेतृत्व क्षमता विकास तालिम सम्पन्न
- १८ पुष २०८०, बुधबार
- 245 पटक पढिएको
म्याग्दी १८ पुस । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बेनीमा दुई दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा समिति र विभिन्नउपसमितिका पदाधिकारी तथा सदस्य एवम् व्यवस्थापकहरुको सहभागीता रहेको थियो । तालिममा नेफ्स्कुनका तालिम अधिकृत श्यामराजा तिमल्सीनाले सहकारीको सिद्धान्त, बचत तथा ऋण सहकारीको कार्यक्षेत्र, कार्यभार र जिम्मेवारी, सञ्चालक समिति, लेखा समिति, उपसमिति तथा शेयर सदस्यहरुको काम, कर्तव्य र कार्यक्षेत्र लगायतको बारेमा सहजीकरण गर्नुभएको थियो । तालिममा २५ जनाको सहभागीता रहेको थियो । सहकारीका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिब हिराप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । समापन कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्य कमला केसी र प्रोबेसन कार्यदल सदस्य मोहन बानियाँले मन्तव्य राख्नुभएको थियो । १ हजार बढी शेयर सदस्य रहेको यस सहकारीले बेनी स्थित कोटभण्डार टोलका साथै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र विस्तार गरेर बचत संकलन तथा ऋण लगानीको सेवा प्रवाह गर्दै आएको छ । पूर्ण तथा व्यवसायिक सहकारी विकास कार्यक्रम (प्रोबेसन)मा आबद्ध भई व्यवस्थित रुपमा बचत तथा ऋण लगानीको सेवा सञ्चालन गर्दै आएको यस सहकारीले शेयर सदस्य लक्षित सहकारी शिक्षा लगायतका गतिविधि समेत सञ्चालन गर्दै आएको छ । सहकारीले आर्थिक संकटको चुनौतिलाई सामना गर्दै नियमित रुपमा बचत संकलन संगै कर्जा लगानी समेत गर्दै आएको छ ।