आलु खेती विस्तारका लागि तीन करोड बजेट

  • १४ मंसिर २०८०, बिहीबार
  • धिरन खत्री
  • 185 पटक पढिएको

 

म्याग्दी, १४ मंसिर। म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ। आलुखेती संरक्षण र विस्तारका लागि चालू आर्थिक बर्ष २०८०/८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रुपमा समूहलाई वितरण गर्नेछ।

हिउँदे र बर्खे आलुबाली संरक्षणका लागि सो बजेटमार्फत १२५ हेक्टर क्षेत्रफलमा आलु लगाउनु पर्छ। छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी १२ हजार रुपैयाँका दरले बिउ खरिद लगायतका उपकरण किन्नका लागि समूहलाई उपलब्ध गराईने कृषि ज्ञान केन्द्रमा कार्यरत अधिकृत सम्झना शर्माले बताउनुभयो ।

उहाँले कम्तीमा १० घरधुरी समेटीएकोे ३० रोपनीभन्दा बढीमा आलु खेती गर्ने १८ वटा समूह वा सहकारी अनुदानका लागि छनोट भएको जानकारी दिनुभयो । ‘हिउँदे आलु लगाउन बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरीका १८ वटा समूहले प्रक्रिया पुर्‍याएर आवेदन दिएका थिए । यी समूहले ५० हेक्टरमा खायन लगायतका आलु लगाउने छन् । आलु खेती लगाउने सहकारी र कृषक समूहलाई कुल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ’, उहाँले भन्नभुयो। सबैभन्दा बढी मंगला– ३ का धापुङ महिला कृषि समूहले ११४ रोपनीमा हिउँदे आलु लगाउने भएका छन् ।

हिउँदे आलु लगाउनका लागि अन्नपूर्ण र रघुगंगाका कृषक समुहबाट आवेदन परेको छ्रैन् । स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन बजेटलाई प्रयोग गरिने केन्द्रले जनाएको छ। बर्खे आलु लगाउनका लागि बाँकी रहेको ७५ हेक्टर क्षेत्रफलमा विगत लगाएका र नयाँ कृषक समूह, सहकारीलाई थप जानकारी गराएर प्रभावकारी रुपमा कार्यान्वयन लागि प्रक्रिया अघि बढाईने अधिकृत शर्माले जानकारी दिनुभयो ।

बर्खे आलु कार्यान्वयनका लागि कम्तीमा १० घरधुरी संलग्न रहेको न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत आलुखेती गर्नका आवेदन गर्नुपर्ने छ। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भएपनि हिउँदे आलुको विउँ बाहिरबाट बढी ल्याउने गरेका छन्। म्याग्दीमा विउँको आलु उत्पादन गर्नका लागि समुह छनोट गरेर यसबर्ष १० रोपनीमा लगाउने योजना केन्द्रले गरेको छ । उत्पादन भएको आलुलाई सुरक्षित भण्डारणको अभावले सस्तोमा आलु विक्रि गर्नुपर्ने बाध्यतामा कृषक वा कृषक समूह रहदै आएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l