म्याग्दीखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी आवागमन सहज

  • १५ आश्विन २०८०, सोमबार
  • 533 पटक पढिएको

बेनी, १५ असोज : म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटलाई गाउँपालिकाको केन्द्र दरबाङ बजार जोड्ने गरि छ्यारछ्यारे स्थित म्याग्दी नदिमा पक्की पुल निर्माण भएको छ । पुल निर्माण भएपछि वडा नम्बर १ निस्कोट र गाउँपालिकाको केन्द्र दरबाङसंग सिधा सम्पर्क स्थापित भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा ४० मिटर लामो पुल निर्माणको ठेक्का लगाएको थियो । उक्त योजना अन्तरगत स्टिल ट्रष्ट प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो ।
स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ भने पुललाई रङ्गरोगन लगायतको काम समेत निर्माण कम्पनीले अघि बढाएको छ । पुलमा रङरोगन र सरसफाईको काम यसै साता सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएपनि निर्धारित मितिमा सम्पन्न नभएपछि यहि असोज ३० गतेसम्मका लागि अन्तिम पटक म्याद थप भएको थियो ।
हिउँदयाममा म्याग्दीखोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्ण रुपमा सवारी आवागमन प्रभावित हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मालिका गाउँपालिका–१ निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो ।

उहाँका अनुसार, यो पुल निर्माण भएसंगै निस्कोटका साथै म्याग्दीको मङ्गला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाकै रुम र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधरणहरु समेत लाभान्वित हुने भएका छन् । निस्कोटबाट मंगला गाउँपालिकाको टिकाबाङ, निस्कोटबाट रुम , निस्कोटबाट ताराखोला र निस्कोटको खोप्टीदेखि छिसबाङ सडक सञ्जालले जोडिएको छ ।