विकास निर्माणको कामलाई प्रभावकारी बनाउन माग 

  • ७ आश्विन २०८०, आईतवार
  • 242 पटक पढिएको

म्याग्दी, ७ असोज । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो ।
सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९/०८० मा वडा कार्यालयबाट सम्पादित काम तथा कार्यक्रम र योजनाहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रतिवेदनअनुसार गत आवमा जन्मदर्ता, विवाह, मृत्यु, बसाइँसराइ, विभिन्न सिफारिसलगायत गरी कुल ५ सय ९० वटा सिफारिसहरु गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी गत आवमै वडामार्फत विभिन्न टोल र वस्तीमा कुल ५१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरी विकास निर्माण, विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरिएको वडा सचिव पुनले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी वडावासीहरुले वडास्तरमा हुने विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा सहभागीहरुले सडक विस्तार भए पनि पूर्णता नभएको, खेलकुदको बजेट क्लबले नपाएको, वडास्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन नसकेको, शिक्षा र स्वास्थ्यलाई ध्यान नदिइएको जस्ता गुनासाहरु गरेका थिए ।
यसैगरी गाउँको ढल व्यवस्थापन योजना अलपत्र परेको, सडक विस्तार भएको ठाउँमा संरक्षण नगरिएको, प्राविधिकको काम फरक परेको, योजनाको अनुगमन नभएको, सिँचाइको लागि पाइपको अभाव भएको, सबै ठाउँमा इन्टरनेटको सुविधा नपुर्‍याइएको, स्वीटर बुन्ने मेसिन अलपत्र परेको, अनुदानका कार्यक्रमबाट सहयोग नपाइएको गुनासो सहभागीहरुले सुनाएका थिए ।
सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पालिकामार्फत वडास्तरमा सञ्चालन हुने विकास निर्माणको कामलाई प्रभावकारी बनाउन जोड दिइएको बताउनुभयो । उहाँले विमको विकास गर्नका लागि विगतदेखि नै वडा, पालिका, प्रदेश र संघ सरकारमार्फत झोलुङ्गे पुल निर्माण, सडक विस्तारलगायत योजनाहरुमा उच्च प्राथमिकता दिएर काम गरिएको जानकारी दिनुभयो । विकास निर्माणको कामलाई प्रभावकारी बनाउन नागरिकस्तरबाट पनि अनुगमन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
विमका वडा अध्यक्ष टकबहादुर पुनले वडाको सबै टोल र वस्तीमा योजनाहरुको पूर्ण कार्यान्वयन गर्नका लागि वडाका जनप्रतिनिधिहरुले टोल विभाजन गरेर काम गरिएको बताउनुभयो । उहाँले वडामार्फत शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सिँचाइलगायत योजनाहरुलाई प्राथमिकता दिएको बताउँदै वडाको आवश्यकता र स्थानीयको जनचाहनाअनुसार काम गर्ने गरिएको बताउनुभयो । कार्यक्रममा मालिका गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दिपक सापकोटाले पनि सहभागीले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस विमका प्रतिनिधि देव पुन, नेकपा एमालेका रैकप्रसाद जुग्जाली, माओवादी केन्द्रका टुकमान जुग्जाली र हिमाली युवा क्लब अध्यक्ष लोककुमार पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष पुनको अध्यक्षता, वडा सदस्य तिलकबहादुर जुग्जालीको स्वागत र किसानी माविका शिक्षक सुमन गर्बुजाले सञ्चालन गरेको कार्यक्रमको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल र प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।